कावासोती । नवलपरासी पूर्व (नवलपुरमा) सुन्तालाजात फलफूल खेतिको क्षेत्र विस्तार हुने क्रम बढ्दो अवस्थामा रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन इकाई नवलपुरले सोमबार कावासोतीमा आयोजना गरेको पकेट ÷ब्लक÷ जोन÷ सुपरजोन कार्यक्रमको प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले जिल्लामा सुन्तलाजात फलफुलको क्षेत्र दोब्बर भन्दा बढीले वृद्धि भएको जानकारी दिनुभयो ।
जिल्लाको बौदीकाली , बुलिङ्टार , गैंडाकोटका विभिन्न नयाँ ठाउँमा परियोजनाले क्षेत्र बिस्तार गरेको छ । बुलिङटार र बौदीकाली गाउँपालिका, हुप्सेकोटको –५, देवचुलीको–६, मध्यबिन्दुको ५, ८,१३ र १५ नम्बर वडा तथा गैँडाकोको ३ र १८ , कावासोतीको १७ नम्बर वडामा सुन्तलाजात फलफूल जोन कार्यक्रम सञ्चालन रहेको कार्यालय प्रमुख सिंहले बताउनुभयो ।
२०७५–०७६ बाट प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना ( सुन्तला जात फलफूल जोन ) लागू हुँदा ३३१ हेक्टर क्षेत्रफलमा मात्रै खेति गरिएको थियो भने चालु आर्थिक वर्षको अहिलेसम्म ८५३ हेक्टर क्षेत्रफलमा सुन्तालाजात फलफूल खेतिको क्षेत्र विस्तार भएको कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो । परियोजना लागु भएपछि जिल्लामा नै सुन्तलाजात फलफूलको नर्सरी समेत स्थापना भएपछि क्षेत्र विस्तारमा समेत टेवा पुगेको छ ।
कार्यालय प्रमुख सिंहका अनुसार अहिले वार्षिक रूपमा ७० देखि ९० हजार बिरुवा उत्पादन गर्न सक्ने जालिघर युक्त नर्सरी स्थापना भई आवश्यक बिरुवा उत्पादन सुरु भएको छ ।
परियोजनाको सहयोगमा १५ सय भन्दा बढी बिरुवा लगाउने किसानको सङ्ख्या २० नाघेको छ ।
जिल्लाका पहाडी क्षेत्रहरूमा जोन कार्यक्रम मार्फत क्षेत्रफल बिस्तारमा धेरै टेवा पुगेको किसान गेस बहादुर रानाले बताउनुभयो । परियोजना लागू भएपछि नयाँ किसान समेत उत्साहित भएर लागेको उहाँले सुनाउनुभयो ।
बगैँचाको रेखदेख , मलजल र रोग कीरा लाग्दा परियोजनाले प्राविधिक सहयोग गर्ने तथा विभिन्न तालिम सञ्चालन गरेर किसानलाई सचेतना जगाउने र नयाँ कामका रूपमा सुन्तला जात फलफूलको नर्सरी स्थापना भएपछि किसानलाई धेरै सहज भएको रानाको भनाई छ । रानाले अहिले १५ रोपनी क्षेत्रफलमा सुन्तला खेति गर्दै आउनुभएको छ ।
परियोजना अन्तरगत सुन्तलाजातको बिरुवामा ५० प्रतिशत, सिचाईका लागि ८५ प्रतिशत, कृषि औजारका लागि ५० , निःशुल्क प्राविधिक सेवा , सङ्कलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरेर कृषकलाई खेतीका लागि प्रेरित गर्ने काम गरिएको छ ।
यसै गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत तरकारी सुपर जोन र धान जोन कार्यक्रम सञ्चालनमा छ भने यसै वर्षबाट व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रम मार्फत २० विगाहा क्षेत्रफलमा उन्नत प्रविधि सहित व्यावसायिक प्याज खेती सुरु गरिएको छ ।
हुप्सेकोट १ २ ३ र ४, कावासोती–४, ९, १०, १२, १५,१६, १७, मध्यविन्दु १ २ ३ ६ ९,बुलिङ्गटार ५ , बौदिकाली ५ र ६ गरी १९ वटा वडाहरूमा तरकारी सुपर जोन लागु भएको छ भने , गैंडाकोट ११,१२,१४,१५ र १७ गरी ५ वटा वडाहरूमा धान जोन कार्यक्रम सञ्चालनमा रहेको सिंहले बताउनुभयो ।
सुरुमा तरकारी जोन कार्यक्रम सुरु हुँदा ५१२ हेक्टर क्षेत्रफलमा तरकारी खेति सुरुआत गरिएको थियो भने अहिले तरकारी सुपर जोन लागु भएपछि क्षेत्रफल विस्तार भई ८१० हेक्टर पुगेको छ ।
कार्यक्रममा कृशहरूले विभिन्न माग समेत राखेका थिए । कृषकका आवश्यकता अनुसारका कार्यक्रम छनौट भएमा कृषि सफल हुने र परियोजनाको लक्ष्य समेत पुरा हुने हुँदा कृषकले टिपोट नै गरी कार्यक्रम माग गरेका थिए ।
सुन्तजाजातमा मुख्य कृषि उपकरण तथा सिँचाइ , धान जोनमा बीउ तथा सिँचाइलाई मुख्य प्राथमिकतामा राखिएको छ भने , तरकारी सुपर जोनतर्फ आधुनिक कृषि प्रणाली भित्राउन आग्रह गर्दै कृषि उपकरण र सिँचाइलाई नै प्राथमिकतामा राखिएको छ । गोरखापत्र अनलाइन