सरकारी कागजात र चिठ्ठी पत्र हुलाकबाटै पठाउने निर्णय कार्यान्वयन हुन सकेन

सरकारी कागजात र चिठ्ठी पत्र हुलाकबाटै पठाउने निर्णय कार्यान्वयन हुन सकेन

कावासोती  । हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले सरकारी कागजात र चिठ्ठी पत्र हुलाक कार्यालयबाटै पठाउने निर्णय कार्यान्वयन गर्न सबै सरकारी कार्यालयसँग आग्रह गर्नुभएको छ ।
एक पालिका एक हुलाक कार्यालयको प्रभावकारीताका सन्दर्भमा नवलपुरको कावासोतीमा आयोजना गरिएको सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै सरकारको २०८० साल असोज एक गतेको निर्णय अनुसार सरकारी चिठ्ठी पत्र , कागजात तथा पार्सलहरू हुलाक कार्यालयबाटै पठाउनु पर्ने निर्णय गरेको तर , त्यो निर्णय कार्यान्वयन हुन नसकेको महानिर्देश पङ्गेनीले बताउनुभयो । सरकारी कार्यालयहरूले हुलाक कार्यालयबाटै चिठ्ठी पत्र , कागजात तथा पार्सलहरू पठाउने हो भने अन्य निकायलाई दिनुपर्ने रकम सरकारकै राजश्वमा दाखिला हुने र यसले सरकारको आयस्रोतमा वृद्धि गर्ने बताउनुभयो । हुलाक सेवालाई प्रभावकारी बनाउनकै लागि एक पालिका एक हुलाक कार्यालयको अवधारणा ल्याएर धेरै जिल्लामा स्थापना समेत भएको सन्दर्भमा अब हुलाक सेवालाई समय सापेक्ष बनाउने दौडमा विभाग लागेको उहाँले बताउनुभयो । सरकारी निकायको कामप्रति सरकारकै अन्य निकायले विश्वास नगर्दा अन्य सर्वसाधारणमा नकारात्मक सन्देश जाने भन्दै पङ्गेनीले जिल्लाहरूले अनिवार्य रूपमा हुला कार्यालयबाट चिठ्ठी पत्र ,कागजात तथा पार्सलहरू पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा जिल्ला स्थित सबै सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कतिपय कार्यालय प्रमुखहरूले हुलाक कार्यालयबाट पार्सलहरू पनि डेलिभरी हुन्छ भन्ने कुराको जानकारी नै आफूहरूलाई नभएको बताएका थिए ।
सहभागी मध्येका मध्यविन्दु प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रमेश प्रसाद आचार्य र जिल्ला प्रहरी नायव उपरीक्षक मधु नेपाल समेतले हुलाक कार्यालयबाट पार्सलहरू पनि डेलिभरी हुन्छ भन्ने जानकारी नै नभएको बताउनुभएको थियो ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले हुलाक सेवालाई बदलिँदो समय अनुसार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको थियो । हुलाकको सेवा छिटो प्राप्त हुन्छ भन्ने महसुस हुने गरी काम गर्न सके एक पालिका एक हुलाक कार्यालयको अवधारणा सफल हुने उहाँको जोड थियो ।
यसै गरी सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले खस्कँदै गएको हुलाक सेवाको साखलाई माथि उठाउने गरी विभागबाट नयाँ नयाँ प्रविधि अनुसारका नयाँ नयाँ योजनाहरू ल्याएर जनतामाझ पुराउनुपर्ने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा सहभागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना एकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहले अब हुलाक कार्यालयले ग्रामीण क्षेत्रका साना कृषि उद्यमी तथा कृषकहरूका सामग्रीहरू समेत ढुवानी गरेर बजारसम्म पु¥याउने गरी काम गर्न सके प्रभावकारी हुने सुझाव राख्नुभएको थियो । थोरै मात्रामा उत्पादन हुने किसानका उत्पादनलाई हुलाक सेवा मार्फत सहुलियत दरमा छिटो छरितो रूपमा बजारसम्म पु¥याउने काम गर्ने हो भने ग्रामीण पालिकामा स्थापना भएका हुलाक कार्यालय सफल समेत हुने उहाँको भनाई थियो ।
सहभागी धेरैजसोले हातहातमा मोबाइल र घरघरमा इन्टरनेट , दिनरात नभनी काम गर्ने निजी क्षेत्रका कुरियर कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने गरी हुलाक कार्यालयले काम गर्न सके मात्रै प्रभावकारी हुने भन्दै समय सापेक्ष छिटो छरितो र प्रविधिमैत्री सेवा प्रवाह गर्न सुझाव राख्नुभएको थियो ।
सहभागीहरूको प्रश्न तथा जिज्ञासालाई सम्बोधन गर्दै महानिर्देशक पङ्गेनीले हुलाक सेवा विभागले अहिले धेरै सुधार गरिसकेको र यसै गरी छलफल तथा अन्तरक्रिया गर्दै थप सुधार गर्ने र सेवालाई थप व्यवस्थित तथा समय सापेक्ष कसरी बनाउन सकिन्छ भनी सरोकारवालाबाट आएका सुझावहरूका अधारमा परिस्कृत गर्दै लैजाने बताउनुभएको थियो । उहाँले यसका लागि हुलाक सेवा सन्दर्भमा ऐनहरू समेत परिमार्जन गर्न प्रक्रिया सुरु गरेको बताउनुभयो । भूमि व्यवस्था विभाग , परराष्ट्र मन्त्रालय , राष्ट्रिय ल्याब सँग समेत सम्झौता गरेर उनीहरूका सबै सामग्रीहरू हुलाक सेवा कार्यालयबाट नै ओसारपसार गर्ने कामलाई अगाडी बढाएको जानकारी समेत दिनुभयो । यसै गरी लाइसेन्स र राष्ट्रिय परिचय पत्र पनि हुलाक मार्फत नै जिल्लाहरूमा ढुवानी गर्न समेत छलफलका क्रममा रहेको बताउनुभएको थियो ।
कार्यक्रममा हुलाक अधिकृत केश बहादुर खण्डलुकले जिल्ला हुलाक कार्यालयको अवस्था , संगठन संरचना, सम्पादन भएका काम, भावि योजना, तथा समस्या र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस