कावासोती । पछिल्लो पुस्तामा परम्परागत सीप हस्तान्तरण गर्न देवचुली नगरपालिकाले ढकिया बुन्ने तालिम सञ्चालन गरेको छ ।
देवचुलीको एक र १७ मा होम स्टे सञ्चालन गरेका महिलाहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो ।
थारु , माझी, मुसहर, बोटे समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा ढकियाको प्रयोग बढी हुने , विभिन्न सांस्कृतिक कार्यक्रम तथा भान्सामा समेत प्रयोग गरिने तर ढकिया बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता रहेपछि पालिकाले ढकिया बुन्ने तालिम सञ्चालन गरेको नगर उपप्रमुख पार्वता तिवारीले बताउनुभयो । ‘यहाँ रहेको होम स्टेमा विभिन्न पर्वहरूमा हुने कार्यक्रममा ढकियाको प्रयोग अनिवार्य छ । भर्खर गएको माघी पर्वमा यहाँ ढकिया नपाउँदा चितवनबाट खरिद गरेर ल्याउनुप¥यो । जसले गर्दा हामीले यहीकै समुदायलाई तालिम दिएर सिप हस्तान्तरण गर्नुपर्छ भन्ने लाग्यो र तालिमको आयोजना गरयौ । ’ तिवारीले भन्नुभयो ।
यस तालिम पश्चात् परम्परागत सीपको संरक्षण सँगै आर्थिक उपार्जनमा समेत महिलाहरूलाई जोड्न सकिने तिवारीको भनाई छ । यहाँ उत्पादन भएको ढकियालाई बिक्री वितरण गरिनुका साथै होमस्टेको कोसेली घरमा प्रदर्शनमा समेत राखिने तिवारीले जानकारी दिनुभयो ।
तालिममा देवचुलीको एक र १७ नम्बर वडाका थारु , माझी , मुसहर तथा बोटे समुदायका २० जना महिला सहभागी छन् । कावासोती १४ निवासी तुलसी माया महतो र सिता कुमारी महतोले तालिम प्रदान गर्नुभएको छ ।
फागुन ४ गतेदेखि सुरु भएको तालिम १८ गतेसम्म १५ दिन सञ्चालन हुनेछ ।
सङ्घीय सरकारको सशर्त अनुदानमा प्राप्त तीन लाख रुपियाँ रकमबाट ढकिया बुन्ने , चुरा पोते र माला बनाउने तालिम सञ्चालन गर्ने गरी पालिकाले समन्वयकारी भूमिका निर्वाह गरेको तिवारीले जानकारी दिनुभयो । तालिम पश्चात् व्यावसायिक रूपमा महिलाहरू आबद्ध हुन चाहेमा नगरपालिकाले समेत त्यसमा सहयोग गर्ने योजना बनाएको तिवारीले बताउनुभयो ।
तालिममा सहभागी हुनुभएकी हरिमाया खोजुवारले ढकिया बुन्ने तालिम पाउँदा खुसी व्यक्त गर्नुभयो । ‘आफ्नै समुदायमा प्रयोग भइरहने भए पनि ढकिया बुन्न सिक्नुपर्छ भन्ने मनमा आउँदै आएन । तर होम स्टे भएपछि परम्परागत वस्तुहरू अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने भएकोले सिक्न पाए हुन्थ्यो भन्ने लागेको थियो । नगरपालिकाबाट तालिम पाएम बुन्न पनि सिकिसकेमा अहिले त खुसी लागेको छ ।’ खोजुवारले भन्नुभयो ।साभार गोरखापत्र अनलाइन