मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव: वन तथा कृषकसंग अन्तरक्रिया

  • नवलपुर आज
  • २०८१ फागुन १४, बुधबार (१ महिना अघि)
  • ११२ पटक पढिएको
मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव: वन तथा कृषकसंग अन्तरक्रिया

प्रकाश रेग्मी , चोरमारा  । नवलपुरको मध्यविन्दु नगरपालिकामा आगामी फागुन २२ देखि २४ गतेसम्म हुने कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव – २०८१ को तयारी तीव्र गतिमा अघि बढिरहेको छ । महोत्सवको सन्दर्भमा मङगलबार नगरपालिका भित्र सक्रिय सामुदायिक वन समितिसँग अन्तरक्रिया तथा छलफल गरिएको छ ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले मध्यविन्दु नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि गर्न लागेको नवीनतम कार्यलाई आफ्नो कार्यालयको तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले सामुदायिक वनमा रहेका पातपतिङरबाट जैविक मल बनाउने काममा सामुदायिक वनहरू लागेको र मध्यविन्दुमा समेत यस कार्य अगाडी बढेकोमा खुसी व्यक्त गर्दै वन कार्यालयबाट गर्नुपर्ने कामहरू समेत पालिकाकै पहलमा हुनु राम्रो पक्ष रहेको बताउनुभयो । यस्ता काममा डिभिजन वन कार्यालयको पूर्ण रूपमा साथ रहने समेत उहाँले बताउनुभयो । कृषि क्षेत्र सङ्ग वन पनि सँगै जोडिएको हुँदा कृषि प्रदर्शनीमा सामुदायिक वनहरूको तर्फबाट प्रतिनिधित्व गराउने काममा आफ्नो तर्फबाट सहयोग रहने बताउनुभयो ।
यसै गरी उहाँले अहिले डढेलोको सिजन भएको हुँदा रोकथामका लागि पालिकाहरूसँग समन्वय गर्दै वन कार्यालय र सामुदायिक वनहरू मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
नगर प्रमुख भिमलाल अधिकारीको अध्यक्षता र डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीको प्रमुख आथित्यतामा छलफल कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहभागी रहेका वनका प्रमुख तथा प्रतिनिरहरूले महोत्सवलाई सफल बनाउन आफूहरूको तर्फबाट आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
नगरप्रमुख भिमलाल अधिकारीले महोत्सव कृषि प्रविधि, स्थानीय उत्पादन प्रवद्र्धन, तथा कृषकहरूको सशक्तीकरणका लागि महत्त्वपूर्ण हुने बताउँदै सबैको साथ सहयोगले नै सफल हुने बताउनुभयो । साथै पालिका भित्रका कृषि उपज र आधुनिकीकरणको प्रदर्शनी गर्ने उद्देश्यले गर्न लागिएको महोत्सवको तयारीलाई तीव्र पारिएको जानकारी दिनुभयो ।
महोत्सव अवधिभर कृषि प्रविधि प्रदर्शनी, परम्परागत रैथाने परिकार प्रदर्शनी, अन्तरक्रिया कार्यक्रम, कृषि हाजिरी जवाफ प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति जस्ता कार्यक्रम हुनेछन्। साथै, स्थानीय किसान, कृषि अनुसन्धानकर्ता, विद्यार्थी, व्यवसायी तथा वित्तीय संस्थाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
नवजागरण नमुना माध्यमिक विद्यालय, चोरमाराको रङ्गशालामा ३ दिने कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना हुनेछ।
यसै गरी मंगलबार नै पालिकाभित्रका कृषकहरूसँग समेत छलफल तथा अन्तरक्रिया भएको छ ।
फलिकाभित्र रहेका कृषक समूह , कृषि फर्म तथा विभिन्न विद्याका कृषकहरूसँग भएको छलफलले आफ्नै पालिकामा हुन लागेको कृषि महोत्सवलाई सफल बनाउन आफूहरूले हर सम्भव साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस