राष्ट्रिय अपाङ्गता सङ्गठन नवलपुरको अध्यक्षमा ज्ञान प्रसाद भुसाल

राष्ट्रिय अपाङ्गता सङ्गठन नवलपुरको अध्यक्षमा ज्ञान प्रसाद भुसाल

कावासोती ।  नेकपा एमाले निकट राष्ट्रिय अपाङ्गता सङ्गठन नवलपुरको अध्यक्षमा ज्ञान प्रसाद भुसाल चयन हुनुभएको छ ।
शनिवार कावासोतीमा भएको चौथो जिल्ला अधिवेशनले सर्व सहमत रूपमा ३० सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा सुनिता सापकोटा,. सचिवमा विष्णु देवी भुसाल, उपसचिव द्धयमा मीन प्रसाद कुमाल र हरि प्रसाद ढुङ्गाना ,कोषाध्यक्षमा हरिलाल गौडेल चयन हुनुभएको छ ।
यसै गरी समितिको सदस्यहरूमा सुनिता भुसाल , केशरी राना मगर , भक्ति पुरी , विष्णु प्रसाद घिमिरे , लिलाधर खनाल , टिकाराम महतो राजेन्द्र पाण्डे लगायत चयन हुनुभएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रतिनिधि सभाका पूर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य तिलक महतले स्थानीय सरकारले अपाङ्गता भएकाहरूका लागि के कस्ता काम गर्न सक्छ त्यस्ता काम गर्न सहजीकरण गर्ने बताउनुभयो । यहाँका सबै कार्यालयहरू अपाङ्गता मैत्री हुनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले अपाङ्गता भएकाको परिवारका सदस्यलाई निःशुल्क शिक्षा प्रदान गर्ने, विभिन्न उपभोग्य वस्तुहरूमा छुटको व्यवस्था गर्ने , रोजगारीको अवसरहरू प्रदान गर्ने जस्ता कामहरू गर्न सकेमा अपाङ्गता भएकाहरूका लागि उपलब्धि मूलक हुने बताउनुभयो । उहाँले अबको बजेटमा अपागताहरुका लागि विशेष प्राथमिकता दिएर बजेट विनियोजन गर्न सुझाव प्रस्तुत गर्ने समेत बताउनुभयो ।

यस्तै कार्यक्रममा सम्बोधन गर्दै संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण पौडेलले अपाङ्गता मैत्री संरचना निर्माण गर्न सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले अपाङ्गताको क्षेत्रमा मानवीय भावना बोकेर काम गर्न जरुरी रहेको बताउनुभयो ।
यसै गरी संविधान सभा सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले अपाङ्गता भएकाहरूका लागि अवसर र रोजगारीको खाँचो रहेको औँल्याउनुभयो । स्थानीय सरकारबाट अपाङ्गता भएकाहरूलाई विशेष कार्यक्रम तथा सिप प्रदान गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष राजेन्द्र पाण्डे , अपाङ्गता भएकाहरुका लागि काम गर्दै आएका अभियानकर्मीहरू सागरमणी ढुङ्गाना , नारायणी शर्मा , लोकनाथ काफ्ले लगायतका अतिथिहरूको सहभागितामा उद्घाटन कार्यक्रम भएको थियो ।
उद्घाटन कार्यक्रम विष्णु प्रसाद काफ्लेको अध्यक्षता , एक बहादुर गुरुङको स्वागत मन्तव्य तथा सागर लुइँटेलको सहजीकरणमा भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस