यामु कुमाल , कावासोती । कावासोती नगरपालिका तीनमा रहेको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा आज एक दिवसीय असल अभिभावकत्व सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूलाई प्रशिक्षण प्रदान गरिएको हो । विद्यालयको अतिरिक्त कार्यक्रम अन्तरगत , अभिभावकहरूमा सचेतना एवम् विद्यार्थीहरूलाई पनि घरबाट नै कसरी पढाई प्रति लगाव गराउन सकिन्छ भन्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल भोजराज दाहालले बताउनु भयो ।
कार्यक्रममा अभिभावकहरू सचेत हुनु पर्ने मुख्य विषयहरूमा जानकारी गराइएको थियो । जस अन्तरगत सकारात्मक वातावरण सृजना , धैर्य र सहनशीलता , स्वतन्त्रता दिनु , समय दिने लगायताका विषयमा आचार्य लक्ष्मण भण्डारीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षक भण्डारीले अभिभावकहरूले विचार गर्नुपर्ने कुराहरूको बारेमा चर्चा गर्दै घरमा आफ्ना बालबालिकाहरूसँगै बसेर परीक्षामा सघाउने , उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा ध्यान दिने , पढ्न लेख्न र परीक्षा लाई सहज रूपमा लिन प्रेरित गर्ने , बालबालिकालाई विद्यालयको शुल्क , रुपैयाँ पैसाको तनाव नदिने , घरमा सुखद र उल्लासमय वातावरण कायम राख्ने , परीक्षाको डर त्रास नदेखाउने , परीक्षालाई डरमुक्त बनाई तयारी गर्न लगाउने जस्ता क्रियाकलाप गर्न जरुरी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा करिब एक सय ५० जना अभिभावकहरूको सहभागिता रहेको थियो ।