कावासोती । हिन्दु र मुस्लिम धर्म मान्ने समुदायको धार्मिक आस्थाको रूपमा रहेको मदारबाबा मेला यस वर्ष यही फागुन पाँच गतेदेखि लाग्ने भएको छ ।
प्रत्येक वर्ष लाग्दै आएको मदारबाबा मेला यस वर्ष पाँच गतेदेखि १४ गतेसम्म सञ्चालन हन लागेको हो ।
नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका –६ को दाउन्ने डाँडामा मदारबाबाको मजार पर्दछ । नवलपरासी पश्चिमकोे सुस्ता गाउँपालिकाको महलबारी हुँदै नौ किलोमिटर टाढा अप्ठेरो पहाडी क्षेत्रमा पैदल यात्रा गरी मदारबाबाको मजार पुगिन्छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै मेला लाग्ने क्षेत्र वरपर मदिरा बिक्री वितरणमा रोक लगाएको छ । विगतका वर्षहरूमा मदिरा सेवनकै कारण विभिन्न अप्रिय घटनाहरू भएका कारण यस वर्ष मेला अवधिभर मदिरा बिक्री वितरण नगर्न नगराउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी दिनुभयो । यसै गरी जुवातास जन्य कुनै पनि गतिविधि नगर्न नगराउन समेत अनुरोध गरिएको शर्माले जानकारी दिनुभयो ।
मेलाको सुरक्षा व्यवस्था चुस्त बनाई राख्न नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान, नेपाली सेनाको विपद् उद्धार टोली, मध्यवर्ती लगायत सुरक्षा संयन्त्र तैनाथ रहने शर्माले जानकारी दिनुभयो । जिल्ला प्रशासनले सुरक्षाको पाटो हेर्ने भएको हुँदा , दुवै जिल्लाका सुरक्षा निकायबाट मेलाको सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको उहाँको भनाई छ । मेला स्थल वरपर निगरानी बढाइने, सिसीटिभी क्यामेरा जडान गरिने तथा शान्ति सुरक्षाका लागि विशेष गस्ती परिचालन गरिने समेत शर्माले बताउनुभयो ।
मेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि सरोकारवालाको सहभागितामा विभिन्न उपसमितिहरू निर्माण गरिएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा, बाटो सडक मर्मत, खानेपानी व्यवस्थापन लगायत आवश्यक सबै तयारी पूरा गरिएको गिरीले बताउनुभयो ।
मेलामा नेपाल र भारतका गरी कूल १० लाख भक्तजन आउने विश्वास लिइएको विनयी त्रिवेणी गाउँपालिका –६ का अध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । यहाँ अधिकांश भारतबाट भक्तजन आउने गर्दछन् ।
मेलामा विशेष गरी धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुका साथै विभिन्न व्यापारिक स्टलहरू समेत रहने अध्यक्ष शाहले बताउनुभयो । यहाँ नेपाल र भारतका सीमावर्ती क्षेत्रबाट व्यवसायीहरूले आफ्ना उत्पादनको बिक्री वितरण गर्ने गर्दछन् ।
मेलामा आएर मदार स्थलमा पूजा अर्चना गरेमा विशेष गरी सन्तान नभएकालाई सन्तान प्राप्तसहित मनोकामना पूरा हुने मुख्य धार्मिक विश्वास रहिआएको हो । भने , मजारमा आएर पूजा अर्चना गरेमा भक्तजनको विभिन्न किसिमको समस्या, दुःख, पिर मर्का समाधान हुने साथै परिवारमा सुखशान्ति प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ ।
प्राचीन मान्यता र मदार ए तारिख पुस्तकमा उल्लेख भए अनुसार सातौँ शताब्दीको अन्तिम दशक तिर सिरिया तिरबाट देश देशावर गर्दै आएका मदार बाबाले यहाँ आई तपस्या गरेको र चामत्कारिक शक्ति प्राप्त गरेको स्थलका रूपमा मदार स्थान मानिन्छ ।
यहाँ नेपाल भारतका लाखौँ तीर्थालुहरू आउने गर्छन् । हिन्दु र मुस्लिम धर्मावलम्बीहरूको आस्थाका रूपमा मदारबाबा रहे पनि यहाँ बौद्ध धर्म लगायतका अन्य धर्मावलम्बीहरू समेत दर्शनका लागि आउने गर्दछन् ।