मध्यविन्दु । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउन मध्यविन्दु नगरपालिकामा पुन ः प्रक्रिया सुरु गरिएको छ ।
भूमि समस्या समाधान आयोग पुनः गठन भएपछि जिल्लामा मध्यविन्दु नगरपालिकाले काम सुरु गरेको हो । मध्यविन्दु– १५ मा जग्गा नाप जाँचको काम बिहीबारबाट विधिवत् रूपमा सुरु भएको छ । मध्यविन्दु –१५ को भिउरानमा एक औपचारिक कार्यक्रम गरेर यहाँ जग्गा नाप जाँच कार्यको नगर प्रमुख भिमलाल अधिकारीले सुरुआत गर्नुभएको छ ।
यस वडामा भूमिहीन दलित ३८, भूमिहीन सुकुम्वासी एक सय ५५ र अव्यवस्थित बसोबासी एक हजार एक सय २१ गरी कूल एक हजार २ सय १४ जना रहेका छन् । उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गर्न पालिकाले नाप जाँच प्रक्रिया सुरु गरेको हो ।
नाप जाँच प्रक्रिया सुरु भएपछि यहाँका बासिन्दा समेत खुसी छन् । लामो समय देखी जोत भोग गर्दै आएको जग्गाको पुर्जा अब भने पाइन्छ भन्नेमा ढुक्क भएको स्थानीय भूमिहीन दलित सन्त बहादुर विकले बताउनुभयो । विकले जग्गाधनी पुर्जा नहुँदा धेरै समस्या भोगेको सुनाउँदै अब भने पुर्जा हात परेपछि सजिलो हुने बताउनुभयो ।
लामो समयदेखि ऐलानी जग्गामा बसोबास गर्दै आउनुभएकी ज्ञानुमाया खड्का पनि जग्गा नाप जाँच सुरु भएपछि निकै खुसी हुनुहुन्छ । जग्गाको पुर्जा नहुँदा धेरै अप्ठेरो परेको गुनासो गर्दै उहाँले भन्नुभयो – ‘कुनै पनि काम गर्न वा दुख बिरामी पर्दा धितो राखेर ऋण निकालौँ अथवा केही बेचेर काम गरौँ न भन्दा पनि नपाइने , घर बनाएर ढुक्कसँग बस्न पनि नपाइने , अब त पुर्जा हात पर्छ भन्ने लागेको छ । म धेरै खुसी छु । ’
नगर प्रमुख अधिकारीले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका आफूहरू निरन्तर लागि परेको बताउनु भयो ।
मध्यविन्दु नगरपालिका –१ मा ९० परिवारलाई यस अघि जग्गाधनी प्रमाण पुर्जा निःशुल्क वितरण भइसकेको छ । त्यसबाहेक हालसम्म वडा नं. १, ५, ६, ७,८ र १० को नापीको काम सम्पन्न भई जग्गाधनी पुर्जा वितरणको लागि अन्य प्रक्रियाहरू अगाडी बढिसकेको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो । नापी सम्पन्न भएको स्थानमा पुर्जाको वितरण र बाँकी स्थानमा नापीको काम सँगसँगै अगाडी बढाएको उहाँको धनाई छ । नापीको कार्यलाई आवश्यक सहजीकरण गरिदिन समेत सबै वडावासीहरूलाई उहाँले अनुरोध समेत गर्नु भएको छ ।
मध्यविन्दु नगरपालिका भरीमा भूमिहीन दलितको सङ्ख्या २ सय ९१, भूमिहीन सुकुम्वासी एक हजार ए सय ६९ र अव्यवस्थित बसोबासी ६ हजार चार सय २५ गरी कूल सात हजार आठ सय ८५ जनाको तथ्याङ्क सङ्कलन गरिएको छ । साभार गोरखापत्र अनलाइन