मध्यविन्दु । नवलपरासी पूर्व (नवलपुरको) मध्यविन्दु नगरपालिका बिहीबारबाट प्लास्टिक रहित कार्यालय भएको छ ।
नगरपालिकाको परिषर भित्र र पन्ध्र वटै वडा कार्यालयमा प्लास्टिकजन्य कुनै पनि वस्तुहरू खरिद गरेर नगरपालिकाको गेटभित्र लगिने छैन् ।
गत आइतबार बसेको कार्यपालिकाको बैठकलेफागुन एक गतेदेखि मध्यविन्दु नगरपालिकाको कार्यालय र १५ वटै वडा कार्यालयमा प्लास्टिकका बस्तुहरू प्रयोगमा नल्याउने निर्णय गरेको र उक्त निर्णय आजबाट लागु भएको नगर प्रमुख भिमलाल अधिकारीले जानकारी बताउनुभयो । ‘कार्यपालिकाको बैठकले प्लास्टिकका बस्तुहरू प्रयोगमा नल्याउने निर्णय गरेको छ । नगरपालिकाको सिँगो परिषर भित्र र हाम्रा पन्ध्र वटै वडामा पानी समेत हामीले प्लास्टिकको बोतलमा प्रयोग गर्ने छैनौ । प्लास्टिकजन्य कुनै पनि वस्तुहरू खरिद गरेर नगरपालिकाको गेटभित्र ल्याउने छैनौ ’ अधिकारीले भन्नुभयो ।
पालिकाले प्लास्टिकजन्य वस्तुको प्रयोग नगर्ने निर्णय गरेसँगै यसलाई दिगो रूपमा कसरी लागु गर्न सकिन्छ भन्ने चुनौती भने रहेको अधिकारीले बताउनुभयो । जसको लागि प्लास्टिकको विकल्पमा माटो ,सिसा ,कपडा तथा अन्य कुन –कुन वस्तु प्रयोग गर्न सकिन्छ त्यसको बारेमा योजना बनाएर प्रयोगमा ल्याउने समेत नगर प्रमुख अधिकारीले बताउनुभयो । स्थानीय स्तरमा नै त्यस्ता वस्तुहरू उत्पादन गर्नका लागि समेत पालिकाले योजना बनाउने उहाँको भनाई छ ।
मध्यविन्दु नगरपालिकाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा वातावरण संरक्षणलाई नीति कार्यक्रममा नै राखेर विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको छ । जस अन्तरगत फोहर मैला व्यवस्थापन तथा जैविक मल उत्पादन कार्य समेत सुरु भएको छ । यस कार्य अन्तरगत कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्ने र सिसा तथा पुन प्रयोग गर्न सकिने फोहोरबाट केही रकम समेत आर्जन गर्दै आएको छ ।