कावासोती । नवलपरासी पूर्व ( नवलपुरको ) कावासोती –१५ गोडारमा रहेको नवलपुर आदिवासी तथा थारु सङ्ग्र्रहालय पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
यस क्षेत्रका रैथाने थारु , बोटे माझी मुसहर समुदायले परापूर्व कालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्रीको संघ्रह गरी यहाँ सङ्ग्र्रहालय स्थापना गरिएको हो । पछिल्लो समय प्रयोगमा आउन छाडेका र प्रयोग हुँदै आएका समेत गरेर यहाँ पाँच सय बढि सामग्रीको संघ्रह गरिएको छ ।
कावासोती १५ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ देशकै उत्कृष्ट अमलटारी होम स्टे सञ्चालनमा छ भने , चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी समेतको व्यवस्था रहेकाले पनि स्वदेशी तथा विदेशी पर्यटकको आगमन हुने गर्दछ । यहाँ आएका पर्यटकले नवलपुर आदिवासी तथा थारु सङ्ग्र्रहालयको अवलोकन गर्ने गर्दछन् ।
२०६६ सालमा माघीको अवसर पारेर स्वैच्छिक रुपमा चन्दा सङ्कलन गरी स्थापना सुरु गरिएको यस सङ्ग्र्रहालय लामो समयसम्म ओझेलमा परेको थियो । यहाँ होम स्टे स्थापना भएपछि पर्यटकीय गतिविधिमा समेत वृद्धि हुँदा आदिवासी थारु सङ्ग्र्रहालयमा समेत टेवा पुगेको छ ।
यस सङ्ग्र्रहालय अवलोकन गर्न विगत ६ महिनादेखि प्रवेश शुल्क लिने व्यवस्था गरिएको छ ।
स्वदेशीका लागि प्रतिव्यक्ति २५ रुपैयाँ र विदेशीका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क तोकिएको सङ्ग्र्रहालय व्यवस्थापन समितिका अध्यक्ष ईनर प्रसाद महतोले बताउनुभयो । ६ महिनादेखि अहिलेसम्म करिब ६ हजार जनाले यस सङ्ग्र्रहालयको अवलोकन गरेको महतोले जानकारी दिनुभयो । ‘पहिले हामीले निःशुल्क रूपमा प्रवेश गर्न दिन्थ्यौ ६ महिना भयो शुल्क लिन लागेको यो बिचमा करिब ६ हजार जनाले यहाँ अवलोकन गरेका छन् । ’ महतोले भन्नुभयो ।
अहिले चलनचल्तीमा नभएका सामग्रीको संघ्रह गर्ने र तीनलाई जीवन्त राख्ने सँगै पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने उद्देश्यले सङ्ग्र्रहालय स्थापना गरेको बताउनुभयो । गाउँमा प्रयोगमा नआएका सामग्रीलाई त्यसै फाल्न भन्दा सङ्ग्रहालयमा उपलब्ध गराउन गाउँका बासिन्दालाई आग्रह गरेर यहाँ राखिएका सामग्री सङ्कलन गरिएको हो भने । केही सामान खरिद गरिएको र केही आफै निर्माण गरेर राखिएको महतोले जानकारी दिनुभयो ।
नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले सङ्ग्र्रहालयले पर्यटकीय गतिविधिमा टेवा पुगेको बताउनुभयो । यहाँ आएका विदेशी पर्यटकलाई सङ्ग्र्रहालय अवलोकन गराउन लैजाने गरेको उहाँ बताउनुहुन्छ । ‘हामीकहाँ आएका पाहुनालाई सङ्ग्र्रहालय देखाउन लैजान्छौ । यहाँ रहेका होटेल तथा रिसोर्ट र होम स्टे सबैमा आउने पाहुनाहरूले यहाँ घुम्ने ठाउँ के के छन् भनेर सोध्दा हामीले पुग्नै पर्ने स्थान सङ्ग्र्रहालय बताउँछौ । उहाँहरू त्यहाँ पुगेर अवलोकन गर्नुहुन्छ । जसले गर्दा आदिवासी थारु समुदायको पहिचान जोगाइराख्न समेत मदत पुगेको छ । ’ महतोले भन्नुभयो ।
यहाँ आदिवासी थारु जातिका कला संस्कृति झल्कने भेषभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरण राखिएका छन् । यस्तै चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारहरू पनि राखिएको छ । साभार गोरखापत्र अनलाइन