कावासोती । सातौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कावासोतीमा भोलीबाट सुरु हुने भएको छ ।
कावासोती एकमा रहेको जनकल्याण माध्यामिक विद्यालयको व्यवस्थापनमा माघ १६ भोलीदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको छ ।
विद्यालयले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । प्रतियोगितामा सितारियो कराँते, तेक्वान्दो, एथलेटिक्स, भलिबल, कपर्दी अन्तरगतका खेलहरू सञ्चालन हुनेछन् । खेलहरु भोली बिहान आठ बजेबाट सुरु हुने छ भने उद्द्दाटन कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कावासोती वडा नम्बर एकका अध्यक्ष तबारक अहमद मियाले , यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रति रुचि जगाउन मदत पुग्ने बताउनुभयो । वडाले खेलकुद मैदान व्यवस्थापन गर्न दुई लाख ५० हजार बजेट विनियोजन गरिएको बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न नगरबाट पाँच लाख विनियोजन भएको उहाँले बताउनुभयो । वडाले यस प्रतियोगिता सफल पार्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आशा ब्लोन गैह्रेले विद्यालयमा सञ्चालन हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आफनो विद्यालयले सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । कावासोतीको पछि परेको बस्तीका रूपमा चिनिने रिठेपानीलाई जिल्लाका सबै क्षेत्रमा परिचित बनाउन यस प्रतियोगिताले सहयोग पुग्ने उहाँले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्नका नगर र वडाले रकम विनियोजन गरिसकेको र समुदायका विभिन्न सहयोगीदाता र सङ्घसंस्थाबाट सहयोग सङ्कलन गर्ने कार्य भएको गैरेले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको उहाँको भनाई छ ।
प्रतियोगिता सञ्चालन गर्ने खेलकुद मैदान व्यवस्थापन गर्ने देखी स्वागत गेट निर्माण , खानेपानी शौचालय लगायतका सबै व्यवस्थानि कार्य सम्पन्न भएकोे विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले बताउनुभयो । कावासोतीका २९ वटा विद्यालय र तीन वटा क्याम्पसबाट गरी ३२ वटा विद्यालयको सहभागिता रहने गिरीले बताउनुभयो । जिल्ला स्तरीय प्रतियोगिता समेत यही हुने भएकाले त्यसका लागि समेत आवास लगायतका प्रबन्ध सबै गरिएको उहाँले जानकारी दिनुभयो ।
विद्यालयले यस प्रकारको ठुलो प्रतियोगिता पहिलो पटक सञ्चालन गर्न लागेकोले यस कार्यक्रमलाई सफल पार्न सबैमा उहाँले अनुरोध समेत गर्नुभएको छ ।
यसैगरी जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले १७ औँ जिल्ला स्तरीय प्रतियोगिता माघ १९ देखि २२ गतेसम्म हुने जानकारी दिनुभयो । चार दिन सम्म चल्ने प्रतियोगितामा जिल्ला भरिका ८ वटा पालिकाबाट गरी करिब ६ सय ५६ विद्यार्थी सहभागी हुने अध्यक्ष पुनले बताउनुभयो । जिल्ला स्तरीय खेलका लागि केन्द्र तथा प्रदेशबाट यसपालि कुनै पनि आर्थिक सहयोग नभएको उहाँले बताउनुभयो । जिल्ला स्तरीय प्रतियोगिताका लागि करिब पाँच लाख खर्च लाग्ने अनुमान गरिएको उहाँको भनाई छ ।
पत्रकारसम्मेलनमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, शिक्षक अभिभावक संघका पदाधिकारी, वडाजनप्रतिनिधिहरु स्थानी समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिताको प्रदेश सांसद एवम् पूर्वमन्त्री रोशनबहादुर गाहाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।