कावासोती । यही माघ ११ गतदेखि तेस्रो मध्यविन्दु महोत्सव २०८१ सुरु हुने भएको छ । मध्यविन्दु १० स्थित अरुण खोला किनारमा महोत्सव आयोजना हुन लागेको मङ्गलवार (आज ) पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
माघ २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा आकर्षणका रूपमा नेपालको मध्य भागमा रहेको मध्यविन्दु स्तम्भ झल्काउने झाकी सहितको वृहत् शोभा यात्रा , विभिन्न जातजातिका कला संस्कृति तथा झाकीको प्रदर्शनी , स्थानीय एवम् राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति , स्थानीय स्तरमा उत्पादित वस्तुको प्रदर्शनी , कृषि प्रदर्शनी , डान्स आइडल , दुधनज्य पदार्थ , प्रविधि तथा हस्तकला प्रदर्शनी , बाल उद्यान , वडा स्तरीय भलिबल प्रतियोगिता , विद्यालय स्तरीय विज्ञान प्रदर्शनी , भजन चुट्का प्रतियोगिता , झाम्रे प्रतियोगिता सहितका कार्यक्रम रहेको मध्यविन्दु उद्योग वाणिज्य सङ्घका महासचिव विन्दु काफ्लेले जानकारी दिनुभयो ।
महोत्सवमा २ सय स्टल रहने जनाइएको छ । एक लाख दर्शकले प्रत्यक्ष तथा पचास लाख दर्शकले अप्रत्यक्ष रूपमा अवलोकन गर्ने र अनुमानित ५ करोडको कारोबार हुने मध्यविन्दु उद्योग वाणिज्य सङ्घका अध्यक्ष किरण कुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवबाट करिब ६१ लाख ५० हजार रुपैयाँ आम्दानी हुने जसमध्ये करिब ४५ लाख ८० हजार रुपैयाँ खर्च हुने र १५ लाख ७० हजार रुपैयाँ बचत हुने अनुमान गरिएको श्रेष्ठले बताउनुभयो ।
मोहत्वमा प्रवेशका लागि टिकट शुल्क ८० राखिएको छ विद्यार्थीका लागि ६० र ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरूलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
जिल्लाको उद्योग ,व्यापार , कृषि उपज, पर्यटन क्षेत्रको प्रवद्र्धन , स्थानीय कला ,संस्कृतिको उजागर गर्नका लागि महोत्सव फलदायी हुने सङ्घका उपाध्यक्ष चेत प्रसाद पौडेलले बताउनुभयो । पत्रकार सम्मेलनमा मध्यविन्दु उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष केदार पराजुली लगायतको सहभागिता रहेको थियो ।
महोत्सव व्यवस्थापनका लागि विभिन्न उप समितिहरू समेत गठन गरिएको छ ।