नमुना सदरमुकाममा पहिलो चरणमा ४७ रुख काटिने,निर्माणको काम सुरु गर्ने तयारी

नमुना सदरमुकाममा पहिलो चरणमा ४७ रुख काटिने,निर्माणको काम सुरु गर्ने तयारी

नवलपु । नवलपरासी पूर्व नवलपुरका नमूना सदुरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख कटान गरिने भएको छ । पहिलो चरणमा निर्माण हुने स्थान भित्र पर्ने ४९ वटा विभिन्न प्रजातिका रुख मध्य ४७ वटा रुख कटान गरिने डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वशन्तकेशव अधिकारीले बताउनुभयाे ।

हालै मन्त्री परिषद्ले सदरमुकाम निर्माण स्थलका ६ सय ४२ वटा रुख कटानका लागि स्वीकृत प्रदान गरेको थियो । यस मध्य तत्काल अन्य रुख हटाउनुपर्ने आवश्यकता नभएकाले छिटो रुपमा काम अघि बढाउन निर्माण स्थलका रुख मात्र कटान गर्न लागिएको डिभिजन वन प्रमुख अधिकारीले बताउनुभयो ।

डिभिजन वन कार्यालयले अहिले बन्ने भवनको क्षेत्रमा पर्ने रुखको पुनः छपान गरेको छ । छपान पछि बिहिबार पूर्व सांसद तिलक महत, जिसस उप प्रमुख शकुन्तला लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालय प्रमुख वसन्तकेशव अधिकारी, अयाेजनाका प्रतिनिधि, वडा अध्यक्ष डोरमान गिरी लगायतका प्रतिनिधि टोलीले कटान हुने रुखको स्थलगत निरीक्षण गरेको छ ।

सदरमुकाम निर्माणको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना सँग वन कार्यालयले रुख कटानको सम्झौता गरेसँगै केहिदिन भित्रनै ४७ वटा रुख हटाउने काम सुरु हुने छ । रुख हटाउने कार्य लगतै निर्माण कम्पनीले काम सुरु गर्ने जनाएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजनासँग बिहिवार रुख काट्ने सम्झौता भएको छ। अब आयाेजनाले रुख काट्ने छ।

गत आर्थिक वर्षमा विनियोजित रु. ५० करोडमा तीन वटा भवन निर्माणका लागि ठेक्का लगाएको छ । सोही अनुसार चौधरी कन्स्ट्रक्सन रौतहटले भवन निर्माणको जिम्मा पाएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपट बहादुर थापाका अनुसार यस वर्ष पनि रु. ८० करोड विनियोजन भएको र थप भवन तथा सभा हल लगायतका संरचना निर्माणको लागि ठेक्का प्रक्रियामा जाने तयारी गरिएको छ । अहिले रु. ४ अर्बको स्रोत सुनिश्चितताको सहमति प्राप्त भएको र आफूहरूले गर्नुपर्ने सबै प्राविधिक काम सकेको उहाँले बताउनुभयो ।  रुख कटान हुने बित्तिकै काम अघि बढी हाल्ने प्रमुख थापाले बताउनुभयो ।

नमुना सदरमुकाम निर्माणको काम सुरु हुन लाग्नु नवलपुर सहित देशकै लागि गौरवको विषय भएको पूर्व सांसद तिलक महतले बताउनुभयो । गणतन्त्र पछि निर्माण भएका नयाँ दुई जिल्ला मध्य नवलपुरले आधुनिक रुपमा सबैले हेर्न लायक , सेवाग्राही मैत्री नमूना सदरमुकाम निर्माण गर्न लागेकाले आफैमा नमूना काम हुने उहाँले बताउनुभयो । विविध कारणले ढिलो गरि काम सुरु हुन लागेकाले अब भने समयमै काम सम्पन्न गरि एकिकृत रुपमा कार्यालयहरु निर्माण गरि सहज रुपमा जनतालाई सेवा प्रदान गर्ने काममा लाग्नुपर्ने पूर्व सांसद तिलक महतले बताउनुभयो ।

नमुना सदरमुकाम निर्माणको गुरु योजना अनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय , पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम ,कर्मचारीका लागि आवाश गृह, अतिथि गृह, सभा हल, पुस्तकालय, खाजा घर लगायतका संरचनाहरू निर्माण हुनेछन् । प्रारम्भिक गुरु योजना अनुसार आयोजनाको कुल लागत रु. १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ । तर यो लागत अहिले बढ्ने बताइएको छ । 

एक सय ८४ बिघा क्षेत्र मध्य ४१ प्रतिशत भू–भागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनुसार अन्य  भूभाग कङ्क्रिट विहीन राखिने छ । आयोजना निर्माण स्थलमा हरियाली क्षेत्र समेत राखिने छ । गण्डकी प्रदेशका एघार जिल्ला परिदृश्य गर्ने एघार खण्डको १ लाख १८ हजार ९१९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ ।

सङ्घ र प्रदेशका सबै कार्यालयहरू निर्माण गर्ने योजनाका साथ बिस. २०७६ वैशाख  ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना सदरमुकामको शिलान्यास गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस