नवलपुरमा माघीको रौनक

नवलपुरमा माघीको रौनक

नवलपुर ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्वको रौनक छाएको छ ।
नवलपुर जिल्ला थारू समुदायको बाहुल्यता रहेको जिल्ला भएकाले पनि यहाँ माघी सुरु हुनुभन्दा एक हप्ता अघिदेखि नै माघीको रौनक सुरु  भएको थियो ।  भोली परेको माघीको अवसरमा जिल्लाको विभिन्न ठाउँहरुमा माघी मेला तथा खिचडी महोत्सवहरुको आयोजना गरिएका छन् ।
थारू समुदायले माघ एक गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने प्रचलन छ । जिल्लाको कावासोती ,  देवचुली , मध्यविन्दु , गैँडाकोट नगरपालिकाको विभिन्न ठाउँ डण्डा , पिठौली ,  अमलटारी , कोल्हुवा , प्रसौनी , पिप्रहर  लगायतका  विभिन्न स्थानमा माघीको अवसरमा खिचडी महोत्सव , झाम्टा नाच , लाठी  नाच लगायत सांस्कृतिक कार्यक्रम तथा थारू समुदायको मौलिक खेल भोदी खेल प्रतियोगिता ,  स्लो साइकल रेस , कुर्ची दौड , फुटबल ,  भलिबल लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिएका छन् । भने शुभकामना आदान प्रदानका कार्यक्रम समेत भइरहेका छन् ।
थारू , बोटे माझी समुदायले सञ्चालन गर्दै आएको  कावासोती १५ मा रहेको अमलटारी घरबास (होम स्टेमा) माघीको निकै रौनक छ  । यस समयमा यहाँ आउने पर्यटकहरूले  थारू समुदायको सांस्कृतिक कार्यक्रमको मनोरञ्जनमा सरिक हुन पाएका छन् । घोँगी , माछा , चिच्चर लगायतका परम्परागत खानाको स्वाद लिदै माघी पर्वको रौनकमा रमाएका छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ एक गते थारू समुदायले नयाँ वर्ष अर्थात् माघी पर्व मनाउने गर्दछन् । माघ एक गतदेखि तिन दिनसम्म धूमधामका साथ नवलपुरमा यो पर्व मनाइन्छ । माघ एक गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठुलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा  छ  । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने परम्परा रहेको नवलपुर आदिवासी थारु सङ्घ्रालय कावासोती १५ का अध्यक्ष इनर महतोले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस