कावासोती । कुरिलो खेतिमा लागेका नवलपुरका किसान अहिले कुरिलो रोप्ने काम गरिरहेका छन् ।
नवलपुको मध्यविन्दुमा केही किसानहरूले ठुलो क्षेत्रफलमा कुरिलो खेति गर्दै आएका छन् ।
मध्यविन्दु –३ ब्रम्हस्थानमा विगत चार वर्षदेखि कुरिलो खेती गर्दै आएका पदम मोक्तानले पाँच बिगाहा क्षेत्रफलमा कुरिलो खेति गरेका छन् । उनको बारीमा यति वेला कुरिलो रोप्ने काम भइराखेको छ । कुरिलो रोप्ने समय मङ्सिर बाट सुरु हुने गर्दछ । पुस महिनाभित्र कुरिलो लगाउने काम सकिने किसान मोक्तानको भनाई छ । उनले कुरिलोको बिरुवा आफैँ उत्पादन गरेर रापेका हुन् । किसान मोक्तानले यस वर्ष कुरिलोको बिरुवा समेत बिक्री गरेका छन् । दुई हजार बिरुवा समेत बिक्री गरेको उनले बताए । कुरिलो रोप्ने काम मङ्सिरबाट सुरु भई पुस महिनाभित्र सम्पन्न हुने किसान मोक्तानले जानकारी दिए ।
उनी जस्तै सोही ठाउँमा विश्वराज ख्याजु र जयराज ख्याजुले समेत कुरिलो खेति गर्दै आएका छन् । दाजुभाइ मिलेर उनीहरूले विगत पाँच वर्षदेखि कुरिलो खेति गरेका छन् । उनीहरुकोमा पनि अहिले कुरिलो रोप्ने काम भइराखेको छ ।
यस्तै अर्का किसान रामलाल पुरीले समेत कावासोती १७ र मध्यविन्दु तीनमा गरी पाँच बिगाहा क्षेत्रफलमा कुरिलो खेति गरेका छन् । चार जनाको गरेर साढे २३ बिगाहा क्षेत्रफलमा कुरिलो खेति गरिएको छ ।
किसान पदम मोक्तानले गत वर्ष अढाई बिगाहा क्षेत्रफलमा कुरिलो खेती गरेका थिए । जसबाट दैनिक ८० देखी एक सय किलो कुरिलो उत्पादन भएको थियो । जसमध्ये दैनिक ५० केजी नवलपुरको बजारमा खपत भएको थियो भने, बाँकी रहेको काठमान्डु नारायणगढ , पोखरा लगायतका बजारमा पठाएका थिए । उनी कुरिलोको खपत जिल्लामा बढाउनका लागि खेती गरेको पहिलो वर्षदेखि नै लागि परेका थिए । ‘म आफैँ गाडीमा घरघरै कुरिलो बेच्न हिँडे , मन्डी धाए , हाटबजार धाए , दुई जना कर्मचारीलाई मोटरसाइकलमा कुरिलो आयो भन्दै होम डेलिभरी समेत गर्दै आए । कुरिलोको फाइदा पनि बताउँदै आएको छु । त्यसैको फल स्वरूप जिल्लामा अहिले खपत बढेको छ । तर म चाहन्छु । मैले उत्पादन गरेको सबै जिल्लामै खपत होस् ।’ मोक्तानले भने ।
मोक्तानको जन्मथलो सर्लाही र कर्म घर काठमान्डु भए पनि उनले नवलपुर आई जग्गा भाडामा लिएर, लोट्स कृषि तथा पशु फर्म दर्ता गरी तरकारी खेती गदै आएका छन् ।