नवलपुर । नवलपुरमा रहेका सरकारी कार्यालयमा सेवा लिन पुगेका सेवाग्राही मध्य २० प्रतिशत सेवाग्राहीले कर्मचारीलाई अतिरिक्त रकम ( घुस ) बुझाउने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्र काठमाण्डौंले तीन दिन लगाएर यहाँका २४ वटा कार्यालयमा गरेको सर्वेक्षणले सेवा लिने २० प्रतिशत सेवाग्राहीले अतिरिक्त रकम तिर्नुपरेको सर्वेक्षणले देखाएको छ ।
जिल्लाको कावासोतीमा बुधवार आयोजना गरेको सदाचार शिक्षा एवं सचेतनामूलक कार्यक्रममा केन्द्रका उप सचिव हीरामणि सुवेदीले नवलपुरमा सेवाग्राहीसँग गरिएको सर्वेक्षणको नतिजा प्रस्तुत गर्दै २० प्रतिशत सेवाग्राहीले अतिरिक्त रकम दिनुपरेको तथ्याङ्क सार्वजनिक गर्नुभएको थियो ।
सेवाग्राहीले लेखापढी व्यवसायी, अन्य मध्यस्थकर्ता मार्फत उक्त रकम कर्मचारीसम्म पुग्ने गरेको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रको सर्वेक्षणमा २६ जना पुरुष र २४ जना महिला गरी ५० जना सेवाग्राही सहभागी रहेका थिए ।
सार्वजनिक तथ्याङ्कमा ३८ प्रतिशत सेवाग्राहीले समयमा काम नभएको बताएका छन् । सेवा लिएका ५२ प्रतिशत सेवाग्राही सेवा लिन झन्झटिलो भएको उल्लेख गरेका छन् । सेवाग्राहीले सर्वेक्षणका क्रममा कर्मचारीको व्यवहार कस्तो पाउनुभयो भन्ने प्रश्नमा ३२ प्रतिशतले नराम्रो भन्ने जवाफ दिएका छन् ।
सतर्कता केन्द्रले २४ कार्यालयमा गरेको सर्वेक्षणका क्रममा ३१ जना कर्मचारीले पोसाक नलगाएको भेटिएको र तीन जना कर्मचारीले कार्यालय समयमा नपुगी समयको पालना नगरेको भेटिएको उप सचिव सुवेदीले बताउनुभयो । कतिपय कार्यालयमा विद्युतीय हाजिर नहुँदा समय पालनका विषयमा थप निगरानी हुन नसकेका कारण सङ्ख्या कम भएको उहाँको भनाई छ ।
सतर्कता केन्द्रको अनुगमनका क्रममा जिल्लाका केही कार्यालयका कार्यालय प्रमुखको हाजिरीको अवस्था खराब देखिएको छ । हाजिर नभएको, काज लिएर कार्यालयमा कम उपस्थिति भएको केन्द्रले उल्लेख गरेको छ ।
सर्वेक्षणका क्रममा ७० प्रतिशतमा नागरिक बडापत्र बारे जन स्तरमा सूचनाको पहुँच नपुगेको देखिएको छ भने ६४ प्रतिशत सेवाग्राहीमा सूचनाको हकका विषयमा जानकारी नै नभएको पाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले सर्वेक्षणबाट देखिएका कमजोरी सच्चाउन आफूले छलफल चलाउने बताउनुभयो ।
हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले सामूहिक प्रयासबाट भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो ।
कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले भ्रष्टाचार नियन्त्रणका लागि तथ्यका आधारमा उजुरी र उपयुक्त छानबिन गरी कारवाहीको दायरामा ल्याउन लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले भ्रष्टाचार सचेत , बोल्न सक्ने, सुकिला मुकिलाबाटै हुने गरेको भन्दै यसको रोकथामका लागि सोही तहलाई सचेत बताउनुपर्ने बताउनुभयो । सतर्कता केन्द्रले नियमित रूपमा जिल्लामा आएर वा जिल्लामै यसको शाखा विस्तार गरी झकझक्याउने काम गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।
राष्ट्रिय सतर्कता केन्द्रका सह सचिव नारायण प्रसाद भट्टले सबैले आफ्नो अनुहार ऐनामा हेरे ठिक छु भन्ने निर्क्योल गरे जस्तै आफूले गरेको कामको अवस्था ठिक छ कि छैन , मैले सदाचार व्यवहार पालना गरेको छु कि छैन , मैले सही तरिकाले सेवा दिएको छु कि छैन भन्ने गरी आफ्नो कामको ऐना हेरी आफूलाई स्वमूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।