कावासोती । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड नवलपुरको नव निर्वाचित संचालक तथा लेखा सुपरीवेक्षण समितिलाई सोमबार एक औपचारिक कार्यक्रमका बिच पद हस्तान्तरण र प्रमाण पत्र वितरण गरिएको छ ।
कावासोतीमा भएको कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका संचालक गोपाल प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेफ्स्कूनका संचालक गौतमले सहकारी अध्यादेशमा व्यक्तिगत बचतको सीमाको बुँदामा आपत्ति जनाउदै सहकारी अभियानलाई अझै ससक्त बनाएर लान जिल्ला संघ लाग्नु पर्नेमा जोड दिनु भयो ।
यस्तै कार्यक्रमका विषेश अतिथि तथा जिल्ला सहकारी संघका अध्यक्ष तिलक प्रसाद पराजुलीले जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला सहकारी संघ मिलेर सहकारी अभियानलाई अगाडी बढाउनु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जिल्ला सहकारी संघका उपाध्यक्ष तुल मणि पौडेल , सचिव श्यामसुन्दर लामिछाने ,निर्वाचन समिति सदस्य प्रदिप राज घिमिरेले जिल्ला बचत तथा ऋण सहकारी संघको उत्तरोत्तर प्रगतिको कामनाका साथै संघका संचालक एवम लेखा सुपरीवेक्षण समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
निर्वाचन समितिका सदस्य श्यामसुन्दर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति सदस्य प्रदिप राज घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
पदभार ग्रहणपछि आफ्नो प्रतिबद्धता जाहेर गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीनाथ नेपालले सहकारी अभियानमा अझै सक्रिय भएर बचत तथा ऋण सहकारी संघलाई बचत संस्थाहरूको ओतिलो छाता संघ बनाउन लागि पर्ने बताउनुभयो । उहाँलेसहकारी अभियन्ताहरू, नेफ्स्कूनका संचालक गोपाल प्रसाद गौतम, जिल्ला सहकारी संघका अध्यक्ष तिलक प्रसाद पराजुली, नेफ्स्कूनका नारायणगढ फिल्ड कार्यालय सदस्य तुल मणि पौडेल , सदस्य द्वय श्याम सुन्दर लामिछाने र प्रदिप राज घिमिरे, सदस्य संस्थाका प्रतिनिधिहरू लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघको पुष १३ गते कावासोतीमा भएको ३० औँ वार्षिक साधारण सभा तथा नेतृत्व चयनबाट सर्वसम्त रुपमा अध्यक्षमा श्री बद्रीनाथ नेपाल ( कल्हुवा मध्यवर्ती साकोस) , उपाध्यक्षमा श्रीहरि चालिसे ( किसान साकोस), सचिवमा शालिक राम कोइराला ( पौरखी साकोस), कोषाध्यक्षमा राम प्रसाद काफ्ले ( नव प्रतिभा साकोस) , सहसचिवमा नारायण प्रसाद पौडेल ( मध्य नेपाल साकोस) चयन हुनुभएको थियो भने , सदस्यहरुमा राधा ढकाल ( नयाँ बेलहानी महिला साकोस) रूपा तिवारी( नारायणी साकोस) , दुप नारायण पौडेल ( संजीवनी साकोस) , बाबुराम कंडेल ( सृजनशील साकोस), दिपा देवी सापकोटा ( सुर्यदिप महिला साकोस) , ऋषि राम लम्साल ( महाराजा साकोस) , डोलराज पाण्डे ( त्रिनेत्र साकोस) र सीता गहतराज ( वेणी महिला साकोस) बाट निर्वाचित हुनुभएको थियो ।
यसैगरी लेखा सुपरीवेक्षण समितिमा संयोजकमा राम चन्द्र धिताल ( मुकुन्दपुर साकोस) सदस्यमा हर्क बहादुर भुजेल ( स्वतन्त्र भू. पू. सैनिक साकोस) र टिका बहादुर कार्की ( गौरी शंकर साकोस) बाट निर्वाचित हुनुभएको थियो ।