चोरी निकासी रोक्न निगरानी बढाउदै मध्यविन्दु नगरपालिका

चोरी निकासी रोक्न निगरानी बढाउदै मध्यविन्दु नगरपालिका

कावासोती  ।  नवलपुरको मध्यविन्दु नगरपालिकाले पालिकाभित्रका खोला नदीमा चोरी निकासी रोक्न कडाइ गर्ने र निगरानी बढाउने भएको छ ।
पालिकाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै पालिकाको गिरुबारी खोला र अरुण खोलाबाट चोरी निकासी बढेको व्यापक जनगुनासो आएपछि यही पुस १२ गते बसेको कार्यपालिकाको बैठकले निगरानी बढाउनुका साथै निकासीमा कडाइ गर्ने केही निर्णय गरेको थियो । सोही निर्णय पालिकाले आइतबार सार्वजनिक गर्दै मध्यविन्दु नगरपालिकाभित्र सञ्चालित क्रसर उद्योग, बालुवा प्रशोधन उद्योग , सप्लायर्स समेतले आफूले बिक्री वितरण गर्ने नदीजन्य पदार्थको बिक्री वितरण गर्दा अनिवार्य रूपमा अनलाइन बिलिङ गर्नुपर्ने , ढुवानी गर्ने साधनले समेत सो विल बोकेको हुनुपर्ने जनाइएको छ । यदि बिल बोकेको नपाएमा नगर प्रहरीले जुनसुकै बखत नियन्त्रणमा लिन सक्ने जनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको हस्ताक्षर रहेको सार्वजनिक सूचनामा नगरपालिकाभित्र सञ्चालित क्रसर उद्योग, बालुवा प्रशोधन उद्योग , सप्लायर्स समेतका लागि ढुवानी गर्ने समय तय गरेको जनाइएको छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै ढुवानी गर्न पाइने निर्णय भए बमोजिम सोही अनुसारको कार्य गर्न गराउन सूचनामा भनिएको छ । यदि रातको समयमा ढुवानी गरेको पाइएमा त्यस्ता ढुवानी साधनलाई नगर प्रहरीले जुनसुकै बखत नियन्त्रणमा लिन सक्ने जनाइएको छ ।
मध्यविन्दु नगरपालिकाले केही दिन अघि मात्रै ११ नम्बर वडामा विभिन्न ठाउँमा राखिएको अवैध ढुङ्गा जफत गरी पालिकाको नियन्त्रणमा लिएको थियो । नगर उपप्रमुख पूर्णकला चौधरी सहितको टोलीले मध्यविन्दु ११ बाट विभिन्न ठाउँमा राखिएको अवैध ढुङ्गा जफत गरेको थियो । पालिकाले अवैध चोरी निकासीलाई रोक्न सुरु आती दिन देखी नै कडाका साथ प्रस्तुत हुँदै आएको छ । यस अघि समेत ठुलो परिमाणमा पालिकाले अवैध ढुङ्गा जफत गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस