नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम अघि बढ्ने भएको छ । हालै विनयी त्रिवेणी गाउँपालिका र वन तथा भू–संरक्षण विभाग बिच भवन निर्माण हुने क्षेत्रको रुख कटान ,व्यवस्थापनका विषयमा सम्झौता भएको छ ।
नेपाल सरकारको २०८१ साउन १० गतेको निर्णय अनुसार विनयी त्रिवेणी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि विनयी त्रिवेणी गाउँपालिका–२, मा रहेको घिउ खोला सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गरी आएको ६ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने र उक्त क्षेत्रमा रहेका ४५ गोटा रुख हटाउन स्वीकृत प्रदान गरेको थियो । यसै विषयलाई कार्यान्वयन गर्नका लागि वन तथा भू–संरक्षण विभागसँग गाउँपालिकाको सम्झौता भएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । पुस ८ गते विभागसँग जग्गा उपभोग गर्ने र त्यसमा रहेका रुख हटाउने लगायतका विषयमा सम्झौता भएको अध्यक्ष गिरीले बताउनुभयो ।
यो सँगै विनयी त्रिवेणी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको बाटो खुलेको छ । हाल साँघुरो क्षेत्रमा पालिका कार्यालय रहेको र पालिका बाट प्रदान गरिने सबै सेवा एकै ठाउँबाट व्यवस्थित रूपमा प्रदानमा असहजता हुँदै आएकाले नयाँ प्रशासकीय भवन निर्माणको प्रक्रिया थालिएको पालिका अध्यक्ष गिरीले बताउनुभयो ।
विभागसँग सम्झौता भएकाले अब बाँकी प्रक्रिया पुरा गरी आउँदो फागुन भित्रमा भवन निर्माणको लागि बहु वर्षीय ठेक्का खुलाएर काम अघि बढाउने योजना रहेको अध्यक्ष गिरीले बताउनुभयो ।
पालिकामा रहेका विभिन्न शाखाहरू व्यवस्थित रूपमा एकीकृत रूपमा सञ्चालन गरी सहज रूपमा सेवा प्रदान गर्न भवन निर्माणपछि सुविधा हुने अध्यक्ष गिरीले बताउनुभयो । पालिकाले विकासका कामसँगै सहज रूपमा सेवा दिने ,सुशासन कायम गर्ने विषयलाई समेत प्राथमिकता दिएर कार्य गरिरहेको उहाँले बताउनुभयो । पालिका भित्रका समस्याको पहिचान गरी क्रमशः ती समस्याको समाधानमा आफूहरू लागिरहेको अध्यक्ष गिरीले बताउनुभयो