एआरटी सेन्टरका लागि मध्यविन्दु जिल्ला अस्पतालमा कर्मचारी आए, काम भएन

एआरटी सेन्टरका लागि मध्यविन्दु जिल्ला अस्पतालमा कर्मचारी आए, काम भएन

कावासोती ।  एचआइभी सङ्क्रमितहरूले नियमित सेवन गर्ने एआरटी औषधी वितरण मध्यविन्दु जिल्ला अस्पतालबाट नै हुनुपर्ने सरोकारवालाले माग गरेका छन् ।
नवलपुरमा रहेर एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लसले सोमबार कावासोतीमा आयोजना गरेको सरोकारवाला बीच बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागीलाले चोरमाराको ए आरटी सेन्टर सहि व्यवस्थापन हुन नसकेको बताउँदै तत्काल मध्यविन्दु जिल्ला अस्पतालमा व्यवस्थापन गरि पाएक पर्ने गरि काम गर्नुपर्ने बताउनुभयो ।
एआरटी सेन्टरमा औषधी वितरण व्यवस्थापन तथा समन्वय गर्ने गरी कर्मचारी खटाइए पनि काम नभएको बताउनुभयो । उहाँले एआरटी व्यवस्थापन गर्ने औषधी ल्याउने , बिरामी कति छन् त्यसको तथ्याङ्क सङ्कलन गर्ने , एआरटी सेवा सुरु भएको छ भनेर सचेतना फैलाउने काम गर्ने गरी एआरटी काउन्सेलर खटाइए पनि एआरटी सेन्टरको यवस्थापन गर्ने काममा लाग्दै नलागेको अवस्था रहेको हुँदा त्यस कुरा प्रति तत्कालै अन्य विकल्प अवलम्बन गर्नुपर्ने समेत नागीलाले बताउनुभयो ।

यस्तै लुम्बिनी पलसकी अध्यक्ष निर्मला पौडेलले एआरटी औषधी मध्यविन्दु जिल्ला अस्पतालबाट वितरण हुनुपर्छ भनेर आवाज उठाउँदै आउँदा बल्ल बल्ल कर्मचारी खटाएको तर तीन चार महिनासम्म पनि काम सुरु हुन नसक्नुले सङ्क्रमितमा निराशा छाएको बताउनुभयो । जिल्ला अस्पतालबाट छिटो रूपमा एआरटी औषधी वितरण सुरु गर्नका लागि उहाँले सम्बन्धीत निकाय समक्ष अनुरोध समेत गर्नुभएको छ । एआरटी सेवन गर्ने सङ्क्रमितहरू जिल्ला बाहिर जानुपर्ने , चोरमारामा सबैलाई पायक नपर्ने भएको हुँदा समय बढी लाग्ने र खर्च बढ्ने गरेका उहाँले गुनासो गर्नुभयो । पायक पर्ने स्थानबाट एआरटी औषधी उपलब्ध नहुँदा कतिपय सङ्क्रमितहरू औषधी सेवन गर्नबाट नै वञ्चित हुनुपरेको पौडेलले बताउनुभयो ।
कार्यक्रममा सहभागी हुनुभएकी जिल्ला अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. स्मिता न्यौपानेले एआरटी काउन्सेलर नियुक्त गरिएको तर भवन अभाव हुँदा र त्यसका लागि आवश्यक सामग्री नआउँदा काम सुरु हुन नसकेको जानकारी गराउनुभएको थियो । उहाँले यस विषयमा आफूले पहल गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनुभएका जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले लुम्बिनी पलसले एचआइभी सङ्क्रमितको क्षेत्रमा गरेको काम सह्रानीय रहेको भन्दै आगामी दिनमा सङ्क्रमितका लागि गर्न सकिने काममा संस्थासँग समन्वय सहकार्य गर्ने बताउनुभयो ।संस्था आफै समस्यामा रहँदा समेत सङ्क्रमितका लागि अहोरात्र खटेर काम गरेको भन्दै उहाँले संस्थालाई दिगो रूपमा जोगाई राख्नका लागि सम्बन्धित निकायसँग आवाज पु¥याउने काममा आफूले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेत , देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी , गैर सरकारी महासङ्घ नवलपुरका अध्यक्ष खेमराज सापकोटा , शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपेन्द्रराज श्रेष्ठ , सामाजिक विकास कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेल , गैर सरकारी संस्था महासङ्घ नवलपुरका पूर्व अध्यक्ष बद्री नेपाल , गैँडाकोट नगरपालिका कार्यपालिका सदस्य ईश्वरी जिसी लगायतले आफ्नो आफ्नो धारणा तथा सुझावहरू राख्नुभएको थियो । सो क्रममा उहाँहरूले सङ्क्रमित तथा प्रभावितका सवालमा, बालबालिकाको शिक्षा ,स्वास्थ्यका सवाल ,जीविकोपार्जनका सवालमा सबैले सहकार्य गरी लाग्नुपर्ने बताउनुभएको थियो । स्थानीय तहले एचआइभी सङ्क्रमित तथा प्रभावितलाई केन्द्रित गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिइएको थियो । स्थानीय तह आफैमा सरकार भएकाले एचआइभी सङ्क्रमित तथा प्रभावितका लागि ठोस योजना निर्माण गरी काम गर्नुपर्नेमा समेत वक्ताहरूको जोड थियो ।
कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै संस्थाका अध्यक्ष निर्मला पौडेलले, एचआइभी रोकथाम ,नियन्त्रण ,उपचार तथा पोषण लगायतका काम संस्थाबाट गरिरहेको जानकारी प्रदान गर्नुभएको थियो । उहाँले नवलपुरका ६ सय जना संक्रमितहरुसंग प्रत्यक्ष जोडिएर संस्थाले काम गरिरहेको जानकारी दिनुभयो । जिल्लाको बौदीकाली र बुलिङटारमा सङ्क्रमितहरू छन् छैनन् भन्ने कुरा खोज गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । आफूहरूले अन्य ६ वटा पालिकामा संक्रसमतहरुको खोजी गरी काम गर्दै आए पनि आफूहरूको श्रोत साधनबाट सम्भव नभएको हुँदा पहाडका दुई पालिकासम्म पुग्न नसकेको भन्दै उहाँले त्यस क्षेत्रमा समेत परीक्षण गरेर सङ्क्रमितको खोजी गर्नका लागि सरोकार राख्ने अन्य निकायबाट सहयोग गर्न उहाँले अनुरोध समेत गर्नुभयो ।
संस्थाका अध्यक्ष निर्मला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दयाराम आचार्यले सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस