विज्ञले भने , कावासोती पहिरोको उच्च जोखिममा छ

विज्ञले भने , कावासोती पहिरोको उच्च जोखिममा छ

कावासोती ।  कावासोती पहिरोको उच्च जोखिममा रहेको विज्ञले औँल्याएका छन् ।
सहमति गैँडाकोटको आयोजना तथा जिल्ला समन्वय समिति नवलपुरको समन्वयमा कावासोतीमा आज आयोजना भएको दिगो रूपमा नदीजन्य पदार्थ उत्खनन र संरक्षण विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै वातावरण विज्ञ निरोज तिमिल्सिनाले हुप्सेकोटको राम्चे पहाड पुरै पहिरो खस्ने जोखिममा रहेको हुँदा त्यसले कावासोती बजार कुनै पनि वेला ठुलो विपद्को जोखिममा पर्न सक्ने बताउनुभयो । 
आफू सहितको विज्ञ टोलीद्वारा ड्रोन मार्फत गरिएको अध्ययनले राम्चे ( धौवादी ) डाँडा पुरै खस्ने देखिएको हुँदा कावासोती सबैभन्दा बढी जोखिममा रहेको उहाँले बताउनुभयो । धौवादी डाँडा कुनै मानवीय क्रियाकलापले नभई प्राकृतिक कारणले पहिरोको जोखिममा रहेको उहाँले जानकारी गराउनुभयो । धौवादी डाँडाको बनावटका कारण पहिरोको जोखिम भएको उहाँले जानकारी गराउनुभयो । ‘धौवादी डाँडाको बेसमा चिप्लो ढुङ्गा र माथी पट्टी चट्याने ढुङ्गा (ओजन बढी भएको ढुङ्गा ) रहेछ । तल पट्टी पानी छि¥यो जसका कारण  चिप्ले ढुङ्गालाई सर्लक्कै चिप्लाएर लगेको छ । जसले जमिन पुरै धसिँदै छ । यो पहिरो निरन्तर रूपमा बढिरहेको छ । कुनै पनि वेला सर्लक्कै डाँडानै खस्न सक्छ । ’ वातावरण विज्ञ तिमिल्सिनाले भन्नुभयो ।

लामो समयसम्म गरेको अध्ययनले यो कुरा पुष्टि गरेको हुँदा कावासोती र हुप्सेकोट गाउँपालिकाले यस विषयलाई गम्भीर रूपमा लिन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले यो डाँडा पहिरो खस्नबाट रोक्न सक्ने कुनै उपाय नभएको तर क्षति हुन नदिनका लागि विभिन्न उपायहरू सम्बन्धित पक्षले अवलम्बन गर्न सक्ने समेत बताउनुभयो । माथिपट्टि पहिरो रोकथामका लागि ड्यामहरू बनाएर क्षति कम गर्न पहल गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै उहाँले ढुङ्गा गिट्टी र बालुवाको उत्खनन , विक्री र व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ , वातावरण संरक्षण नियमावली २०७८ , गण्डकी प्रदेश वातावरण संरक्षण ऐन २०७६ , संशोधन गर्ने ऐन २०७९ का बारेमा चर्चा गर्दै कतिपय ऐन नीयम र कार्यान्वयन गर्ने सन्दर्भमा तालमेल नहुँदा विवादहरू उत्पन्न हुने गरेको बताउनुभयो । सरकारले केन्द्रमा बसेर सबै ठाउँको भूगोलको बनावट नबुझीकन एउटै खालको नीति नियम बनाउँदा काम गर्ने क्रममा समस्या आउने गरेको उहाँको भनाई थियो । ढुगाा गिट्टी र बालुवाको उत्खनन , विक्री र व्यवस्थापन सम्बन्धी ऐन कानुन भौगोलिक बनावट र ठाउँ परिवेश अनुसार बनाउन नसक्नु नै यसको बाधकका रूपमा रहेको उहाँले बताउनुभयो । ऐन कानुनले विपद जोखिम भएका ठाउँमा विधि प्रक्रिया पु¥याएर उत्खनन गर्न सकिने भने पनी सङ्घ प्रदेश , वन निकुञ्ज लगायतका कानुनहरू एक आपसमा बाझिदा समस्या र झन्झटिलो हुने गरेको उहाँले बताउनुभयो ।
यसै गरी कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ढुङ्गा गिट्टी र बालुवाको उत्खनन विक्री र व्यवस्थापनका बारेमा चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीकी संरक्षण अधिकृत मधु नेपालीले प्रस्तुति राख्नुभएको थियो । उहाँले निकुञ्जले उत्खनन गर्न दिँदैन समात्छ भन्ने भ्रम रहेको भन्दै नदीजन्य पदार्थ उत्खननको मापदण्ड भित्र रहेर काम गरेमा कुनै पनि समस्या नहुने बताउनुभयो । निकुञ्ज भित्र रहेको नारायणी नदीबाट समेत मापदण्ड भित्र रहेर उत्खनन गर्न सकिने बताउँदै उहाँले मापदण्ड मिचेर काम गर्दा समस्यामा परिने उहाँको भनाई थियो ।
कार्यक्रममा ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ संयोजक खेमराज खनालले सहमति संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । संस्थाले नवलपुर सहित देशका विभिन्न जिल्लाहरूमा काम गर्दै आएको बताउनुभयो । ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ अन्तरगत संस्थाले नवलपुरको गुन्द्रही र चितवनको खगेरी उपजलाधार क्षेत्रको माथिल्लो तटबाट संरक्षण कार्य गरेको खनालले जानकारी गराउनुभएको थियो । जनचेतना सँगै पानीको मुहान संरक्षण , भूक्षय रोकथाम , गोठ सुधार कार्यक्रम अन्तरगत ८५ जना किसानलाई तालिम तथा सहयोग , नदीसङै हामी कार्यक्रम अन्तरगत विभिन्न १३ वटा सङ्घसंस्थासंग हातेमालो गर्दै नदी सरसफाइका कार्य गर्दै आएको खनालले बताउनुभयो ।
सहमतिले वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको समन्वयमा डब्लु डब्लु एफ नेपालको सहयोगमा संरक्षणमुखी कार्य गर्दै आएको छ ।
सहमति संस्थाका उपाध्यक्ष नगेन्द्र प्रसाद रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले सहजीकरण गर्नुभएको थियो ।
कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेत , डिभिजन वन कार्यालय प्रमुख वसन्त केशव अधिकारी , खानेपानी महासङ्घ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल लगायत सामुदायिक वन , निकुञ्ज , मध्यवर्ती , जलाधार क्षेत्रमा काम गर्ने नवलपुरका सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बेल्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले सरकारले गर्नुपर्ने काम सहमति संस्थाले गरेकोमा धन्यवाद दिनुभयो । उहाँले दिगो रूपमा नदीजन्य पदार्थ उत्खनन र संरक्षणको विषयमा बाझिएका विषयमा समन्वयको तर्फबाट सम्बन्धित निकायसमक्ष सहजीकरण गर्ने बताउनुभयो ।
परियोजना अन्तरगत कावासोतीको गुन्द्रही जलाधार क्षेत्र र चितवनको खगेरी जलाधार क्षेत्रमा सहमतिले विभिन्न काम गर्दै आएको छ ।
सहमति संस्थाका उपाध्यक्ष नगेन्द्र प्रसाद रिजालले सहमति संस्थाले सरकार पुग्न नसकेको ठाउँमा आफूहरू पुगेर काम गरिरहेको बताउनुभयो । यस परियोजनाले सुरक्षित उपभोग सँगै संरक्षणका लागि सचेतना प्रदान गर्ने काम गर्दै आएको बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस