प्रदेश मातहतका कार्यालयको वार्षिक समीक्षा : दरबन्दी अनुसारको कर्मचारी अभाव

प्रदेश मातहतका कार्यालयको वार्षिक समीक्षा : दरबन्दी अनुसारको कर्मचारी अभाव

कावासोती ।   जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा  बुधवार जिल्ला स्थित प्रदेश मातहतका सरकारी कार्यालयहरूको वार्षिक समीक्षा गोष्ठी कावासोतीमा सम्पन्न भएको छ ।
प्रदेश मातहत रहेका १३ वटा कार्यालयबाट गत आर्थिक वर्ष २०८० , ०८१ मा भए गरेका कामहरू, असल अभ्यासहरू , योजना कार्यक्रमहरू , बजेट , चुनौती तथा समस्याहरू , लगायतका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सामाजिक विकास कार्यालय , डिभिजन वन कार्यालय , मध्यविन्दु जिल्ला अस्पताल , भेटेरिनरी तथा पशु विज्ञ सेवा केन्द्र , कृषि ज्ञान केन्द्र , जलश्रोत तथा सिँचाइ , भूमिगत सिँचाइ , जिल्ला आरोग्य केन्द्र , उद्योग तथा पर्यटन , डिभिजन खानेपानी लगायतका कार्यालयबाट प्रस्तुति गरिएको थियो ।
प्रदेश मातहतका कार्यालयहरूको सबैभन्दा ठुलो समस्या भनेको दरबन्दी अनुसारको कर्मचारी ननुहुनुले काम कारबाहीमा बाधा पर्ने गरेको प्रस्तुतीकरणमा जानकारी गराइएको थियो । कृषि क्षेत्रतर्फका कार्यालयहरूमा तथा जिल्ला आरोग्य केन्द्रमा सवारी साधनका कारण निकै समस्या परेको गुनासो गरिएको थियो । जिल्लाको अधिकांश भूगोल पहाडी क्षेत्रमा पर्ने हुँदा कन्डिसनको गाडी नहुँदा फिल्डमा काम गर्न जाँदा पटक पटक बिग्रने गर्दा सास्ती खेप्नुपरिरहेको बताइएको थियो । कृषिमा उपलब्ध हुने अनुदानका लागि लालपूर्जा नभएका किसानहरू बञ्चित हुनुपरेको भन्दै कृषि ज्ञान केन्द्रका प्रमुख कूल प्रसाद तिवारीले कतिपय नीति नियमहरू परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । नयाँ जिल्ला भएको हुँदा सबैजसो कार्यालय भाडाको घरमा बस्नुपर्दा काम गर्न असहज भएको समेत प्रस्तुतीकरणमा जानकारी गराइएको थियो ।
जिल्ला अस्पतालमा भवन अभावका कारण काम गर्न असहज भएको , बिरामीलाई आवश्यक पर्ने सेवा विस्तार गर्न असमर्थ रहेको जानकारी गराइएको थियो । डिभिजन वन कार्यालय प्रमुख वसन्त केशव अधिकारीले वन नीतिका कारण काठ बिक्री वितरणमा समस्या आएको ,मुद्धामामिलाका कारण राजश्व सङ्कलनमा द्विविधा भएको लगायतका समस्या अवगत गराउँदै राम्रो काममा पहाडी क्षेत्रमा अम्रिसो खेती सफल भएको बताउनुभएको थियो ।
जिल्ला समनवय समिति नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचाल , जिल्ला समन्वय समितिका उपप्रमुख शकुन्तला लम्साल , जिल्ला समन्वय समितिका सदस्यहरू , पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालले परिणाम आउने खालका योजना बनाउने सन्दर्भमा तीनै तलको सरकार चुकेको भन्दै सकेसम्म टुक्रे योजना नबनाउनका लागि कार्यालयहरूले पहल गर्नुपर्ने र सरकारबाट पनि यस विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधारतर्फका कुनै पनि काम गर्दा अनुभव प्राप्तलाई काम गर्न दिनुपर्नेमा जोड दिनुभएको थियो । भौतिक पूर्वाधार तर्फका काम उपभोक्ता समिति भन्दा पनि विज्ञ मार्फत नै गर्दा काम सही रूपमा सम्पन्न हुने , बेरुजु नहुने उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले प्रदेशका सांसद तथा कार्यालय प्रमुखहरूले प्रदेश मातहतका कार्यालयहरूको भवन निर्माणका लागि दबाब दिनुपर्ने बताउनुभयो । यहाँ रहेका कार्यालयहरू भाडामा हुँदा काम गर्न असहज भइरहेको सन्दर्भमा छिटो काम होस भन्नका लागि दबाब दिनै पर्ने उहाँको जोड थियो ।
कार्यक्रममा समन्वय अधिकारी जितेन्द्रि जंग केसीले सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस