स्थानीय तहको वार्षिक समीक्षा गोष्ठी : बेरुजु कम गर्न सुझाव

स्थानीय तहको वार्षिक समीक्षा गोष्ठी : बेरुजु कम गर्न सुझाव

कावासोती ।  गण्डकी प्रदेशका प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले स्थानीय तलमा देखिएको बेरुजु कमगर्ने गरी काम गर्न आग्रह गर्नुभएको छ ।
जिल्ला समन्वय समिति नवलपुरले आज कावासोतीमा आयोजना गरेको जिल्ला स्थित स्थानीय तहको आर्थिक वर्ष २०८० /०८१ को वार्षिक समीक्षा गोष्ठीमा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले पालिकाहरूमा बेरुजुको समस्या बढी देखिएकोले बेरुजुलाई अरूको पालामा भएको भनेर बेवास्ता नगरी आफ्नै कार्यकालमा कम गर्ने गरी लाग्न बहालवाला कर्मचारी तथा पालिका प्रतिनीधिहरुलाई अनुरोध गर्नुभएको हो । जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी बिच नग र मासुको सम्बन्ध बनाएर अगि बढ्न सकेमा बेरुजु लगायतका सबै समस्या समाधान हुनेमा उहाँले जोड दिनुभयो । वर्षेपिच्छे बेरुजु बढ्दै जानु भनेको राम्रो काम नभएको उहाँले बताउनुभयो । यसै गरी उहाँले स्थानीय तहमा परिणाम देखिने गरी काम गर्नुपर्ने समेत बताउनुभयो । उहाँले पालिकाहरूबाट भए गरेका कामहरू सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्नु पनि अनुरोध गर्नुभयो ।
यसै गरी कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालले सङ्घीयतामा तीन तहकै नेतृत्वले समन्वय सहकार्य गरेर अगि बढ्न सके परिणाममुखी काम गर्न सकिने बताउनुभयो । उहाँले करको दायरा बढाउन सुझाव समेत दिनुभयो ।
कार्यक्रममा जिल्लाका आठ वटै पालिकाबाट प्रस्तुतीकरण गरिएको थियो । कावासोती नगरपालिकाबाट निमित्त प्रशासकीय प्रमुख क्षेत्र बहादुर भण्डारी , देवचुली नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल , मध्यविन्दु नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल , गैँडाकोट नगरपालिकाबाट शिक्षा शाखा प्रमुख राम प्रसाद अधिकारीले प्रस्तुति राख्नुभएको थियो भने हुप्सेकोट गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुली , विनयी त्रिवेणी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित , बौदीकाली गाउँपालिकाबाट उज्ज्वल बहादुर बस्नेत , बुलिगंटार बाट प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसालले प्रस्तुति राख्नुभएको थियो । गत आर्थिक वर्ष २०८० /०८१ मा पालिकाबाट भए गरेका कामहरू असल अभ्यासहरू , योजना कार्यक्रमहरू , चुनौती तथा समस्याहरू , न्यायिक समितिका कार्यहरू लगायतका बारेमा जानकारी गराइएको थियो ।
सबै पालिकाको साझा समस्याको रूपमा टुक्रे योजना र केन्द्र र प्रदेशबाट विनियोजित वित्तीय समानीकरण तथा राजश्व बाँडफाँडको रकम प्राप्त नहुनु , जनप्रतिनिधि तथा कर्मचारीका लागि तालिमको अभाव लगायतका समस्याहरू रहेको प्रस्तुतीकरणमा जानकारी गराइएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख सकुन्ताला लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो भने , समन्वय अधिकारी जितेन्द्रिय केसीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्माको अध्यक्षता रहेको थियो । उहाँले एउटा पालिकाहरूमा भएका रामा कामको अर्को पालिकाले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम अन्तरगत भोली प्रदेश मातहतका कार्यालयहरूको वार्षिक ममिक्षा कार्यक्रम हुनेछ

ताजा अपडेट

खोजी गर्नुहोस