नवलपुर । सडक पूर्वाधार नबन्दा कुनै बेला बिकट मानिने सर्दी कालोपत्रे सडकले जोडिएसँगै सुगम बनेको छ । विनयी त्रिवेणी गाउँपालिकाले पालिकाको गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास –सर्दी सडक कालोपत्रे सडकले जोडिएको छ । यो सँगै घण्टौँ लगाएर कष्टपूर्ण रूपमा दुम्किबास आउनुपर्ने सर्दी सहित सो क्षेत्रका बासिन्दाको बाध्यता हटेको छ ।
दसकौँ देखि सुविधायुक्त सडकले नजोडिएको दुम्किबास –सर्दीलाई पालिकाले कालोपत्रे सडकले जोड्ने काम सकेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । आफू निर्वाचित भएर आएसँगै पहिलो सङ्कल्पका रूपमा गाउँपालिकाको गौरवको योजनाका रूपमा दुम्किबास –सर्दीलाई जोड्ने योजना अघि बढाएको र अहिले आएर उक्त कार्यले पूर्णता पाएको अध्यक्ष गिरीले बताउनुभयो । ‘पचासौँ वर्षदेखि यो सडक निर्माण हुन सकेन, हामी आएसँगै यो सडक निर्माण गर्ने प्रतिबद्धता अघि सारी काम सक्यौँ , अहिले एक छिनमा सरर सर्दी पुग्न सकिन्छ’ अध्यक्ष गिरीले भन्नुभयो ।
गाउँपालिकाले दुम्किबास–डाँडाजोर–सिदे्र हुँदै कोल्टाडीसम्मको करिब १४ किलोमिटर सडक स्तरोन्नति गरेको हो । गाउँपालिका करिब रु. १७ करोडको लागतमा सडक स्तरोन्नति गर्ने काम गरेको पालिकाका इन्जिनियर शम्भु केसीले बताउनुभयो ।
‘पहिला घण्टौँ लगाएर हिँडेर जानुपर्ने बाध्यता थियो, कतिपय सर्पले टोकेका बिरामीलाई समयमा अस्पताल पु¥याउन नपाउँदा बाटो मै ज्यान जान्थ्यो, अहिले त बाटोले धेरै सुविधा भएको छ ’ सर्दीका स्थानीय विष्णुमाया भुजेलले बताउनुभयो ।
पालिकाको यस सडकले विनयी त्रिवेणी १, २, ३, ४ र ५ का बासिन्दा सबैलाई सहजता पु¥याएको छ ।
मुख्य गरी वडा नम्बर ३, ४ र ५ का बासिन्दालाई सहज रूपमा दुम्किबास आउन थप सुविधा पुगेको छ । सर्दी क्षेत्र सधैँ पछाडि पर्नुहुन्न भनेर पालिकाले सडक पुगेपछि मात्र अन्य विकासका काम अघि बढ्छ भन्ने बुझेर यस योजना सम्पन्न गरेको गाउँपालिका अध्यक्ष गिरीले बताउनुभयो । सडक कालोपत्रे बनेसँगै सर्दी –दुम्किबासको यात्रा करिब २० मिनेटको बनेको छ ।
पालिकाको महत्त्वपूर्ण एउटा सङ्कल्प पुरा भएको र क्रमशः सबै वडालाई सहज रूपमा राजमार्ग र पालिकासँग सहज रूपमा सुविधा युक्त सडकले जोड्ने योजना आफ्नो रहेको गाउँपालिका अध्यक्ष गिरीले बताउनुभयो । पालिकाले सडक पूर्वाधारको विकास सँगै विद्युतिकरण, कृषि क्षेत्रमा व्यवसायीकरणमा समेत उत्तिकै चासोका साथ काम गरिरहेको उहाँको भनाई छ । विनयी त्रिवेणीमा लो भोल्टेज र विद्युत काटिने समस्या रहेकाले निर्माणाधीन सबस्टेशन करिब अन्तिम चरणमा रहेकाले चाडै विद्युतको समस्या समेत हल हुने उहाँको भनाई छ । त्यसका लागि आफूले पहल गरिरहेको अध्यक्ष गिरीले बताउनुभयो ।
दुम्किबास –सर्दी सडक कालोपत्रे भएसँगै सर्दी क्षेत्रबाट राजमार्ग पुग्न सहजता थपेको गाउँपालिका उपाध्यक्ष भगवती वैदवारले बताउनुभयो । पहिले पहिले कष्टकर रूपमा राजमार्ग पुग्नुपर्ने अवस्था रहेकोमा अब सडक कालोपत्रे भएसँगै त्यो दुख हटेको उहाँले बताउनुभयो । पालिकाले दृढ सङ्कल्प बोकेर यो सडक निर्माण गरेको उहाँले बताउनुभयो ।
दुम्किबास –सर्दी सडक कालोपत्रे भएसँगै यो सडक खण्डमा पर्ने सबै गाउँका स्थानीयलाई यात्रा गर्न सहज भएको छ । विनयी त्रिवेणीसँगै पूर्वी पाल्पाका बासिन्दालाई समेत यो सडकले सुविधा थपेको छ ।