कावासोती । कावासोती १४ मा रहेको बाल कल्याण आधारभूत विद्यालयको ४५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार एक समारोहका बिच मनाएको छ ।
गण्डकी प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै बालबालिकाको पहिलो शिक्षक भनेको अभिभावक भएको हुँदा अभिभावहरूले आफ्ना बालबच्चालाई नेपाली संस्कार सिकाउन जरुरी रहेको बताउनुभएको छ । पछिल्लो समय बालबालिकाहरूमा आफ्नो संस्कारप्रति चासो नराख्ने परिपाटी विकास भएकोले अभिभावहरूले घरैबाट आफ्ना बालबच्चालाई असल संस्कार सिकाउनुपर्नेमा उहाँको जोड थियो । विद्यालयमा आइसकेपछि विद्यार्थीहरूले आफ्ना अभिभावकभन्दा शिक्षकहरूको कुरा बढी सुन्ने हुँदा विद्यालयबाट सोही अनुसारका क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउनुपर्ने बताउनुभयो । विद्यालयमा शिक्षकहरूले जस्तो ज्ञान दिन्छन् सोही अनुसार विद्यार्थीहरूले पनि अनुसरण गर्ने भएकाले सर्वप्रथम अनुशासन र संस्कार के हो भन्ने कुरा सिकाएर पठनपाठन सुरु गर्नु उहाँले सुझाव दिनुभयो । उहाँले अबका विद्यार्थीहरूलाई अहिलेको समय अनुसारको शिक्षा दिन जरुरी रहेको बताउनुभयो ।
अहिलेको शिक्षा नीति समय अनुसार मेल खान सकेको छ कि छैन भन्ने कुरामा छलफल चलेको भन्दै उहाँले सरकारले पनि शिक्षा नीतिमा समय सापेक्ष परिमार्जन गरेर अगाडी बढ्ने कुरामा गम्भीर रहेको बताउनुभयो । उहाँले किताबी ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान समेत प्रदान गर्न जरुरी रहेकोमा समेत मन्त्री श्रेष्ठको जोड थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रिका महतोको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेत , गण्डकी प्रदेशका पूर्व निर्देशक दिपेन्द्र ढकाल , कावासोती नगरपालिका वडा नं. १४ का अध्यक्ष तुलसीराम थारु , १७ का अध्यक्ष चूडामणि थनेत समाजसेवी दिपक पंगेनी , पतिराम थनेत , कावासोती नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले विद्यालयको शैक्षिक उन्नति प्रगतिको कामना गर्दै आगामी दिनमा मावि तहसम्म सञ्चालन गर्न सक्ने गरी विद्यालयको विकास गर्नमा सबैले हातेमाले गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपादेवी महतोले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदमा विजयी हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा छात्रवृत्ति वितरणको कार्यक्रम पनि गरिएको थियो ।
यसैबिच विद्यालयमा निर्माण भएको नयाँ पक्की भवनको समेत गण्डकी प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले उद्घाटन गर्नुभएको छ । रिबन काटेर तथा शिलालेख अनावरण गर्दै मन्त्री श्रेष्ठले भवन उद्घाटन गर्नुभएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत अठार ला तथा सामाजिक विकास मन्त्रालय पोखराको दश लाख रुपैयाँ गरी २८ लाख रुपैयाँ लागतमा पक्की भवन निर्माण भएको हो ।
कार्यक्रममा रेसम फिरिरि नेपाल संस्थाबाट विद्यालयमा एक लाखको अक्ष कोष स्थापना गरिएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष दिपक पंगेनीले विद्यालयमा एक लाख बराबरको अक्ष कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । साथै विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम समेत गर्ने बताउनुभएको छ । रेसम फिरिरि नेपालले नवलपुरको मध्यविन्दु सहितका विभिन्न विद्यालयमा न्यानो कपडा सँगै शैक्षिक सामग्री वितरण तथा अक्ष कोष स्थापना गर्ने कार्य गर्दै आइरहेको छ । विद्यालयले रेसम फिरिरि नेपालका अध्यक्ष पङ्गेनीलाई कार्यक्रममा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।
यस्तै विद्यालयलाई स्थानीय समाजसेवी तथा विभिन्न सङ्घसंस्था र व्यक्तिगत रूपमा समेत सहयोग प्रदान गरिएको थियो ।
यस्तै विद्यार्थी तथा आमा समूहहरूबाट विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको थियो । विद्यालयका शिक्षक शुकदेव कँडेलले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । भने विद्यार्थीहरूको तर्फबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए ।