पत्रकार महासंघ नवलपुलाई साझा बनाएर लैजान सुझाव

पत्रकार महासंघ नवलपुलाई साझा बनाएर लैजान सुझाव

कावासोती ।  नेपाल पत्रकार महासङ्घ नवलपुरको साधारण सभा तथा अधिवेशन आज कावासोतीमा सम्पन्न भएको छ ।
कावासोती दुईमा रहेको पानस बैंकेटमा आयोजना भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यता रहको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले पत्रकार महासङ्घ महासङ्घको चुनाव आइरहेको सन्दर्भमा कुरा गर्दै पत्रकार महासङ्घ सबै पत्रकारहरूको साझा संस्था भएको हुँदा सबैको अपनत्व हुने गरी संस्थालाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नवलपुरको हकमा अघिल्लो चुनावमा पनि सहमतिमा कार्य समिति चयन भएको स्मरण गर्दै यसपटक पनि सबैलाई समेटेर सहमतिमै कार्य समिति निर्माण गर्न सकिने जिकिर समेत गर्नुभयो ।

यसै गरी कार्यक्रममा बोल्दै विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पत्रकारहरूले सहर केन्द्रित मात्रै भन्दा पनि दूर दराजका गाउँ बस्तीहरूका समस्याहरुको उजागर गर्न सुझाव दिनुभयो । उहाँले दूर दराजमा रहेका पालिकाहरूले गरेका राम्रा कामहरूको प्रचारप्रसार गर्ने , बजेटको सुनिश्चितता लागि भूमिका खेल्न सक्नुपर्ने समेत बताउनुभयो । आफ्नो गाउँपालिकाले ५० वर्षदेखि गर्न नसकेको विकासका काम गरेकोले त्यस्ता विकासका कार्यलाई उजागर गर्नका लागि उहाँले अनुरोध गर्नुभयो ।

यसै गरी प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले सरकारी निकायको पारदर्शिता कायम राख्ने काममा सधैँ एक भएर काम गर्ने बताउनुभयो । उहाँले पत्रकारको सुरक्षा लगायतका विषयमा जिल्ला प्रशासन कार्यालय अत्यन्त संवेदनशील रहेको बताउनुभयो । सूचना प्राप्त गर्ने सन्दर्भमा केही समस्या भए समाधान गर्ने समेत उहाँले बताउनुभयो ।

देवचुली नगरपालिका प्रवक्ता तिल प्रसाद पाठकले पत्रकार समुदायलाई सूसुचित गर्ने काम गर्ने हुँदा सही र सत्य समाचार सम्प्रेषण गर्न अनुरोध गर्नुभयो । सञ्चार माध्यममा आएका समाचारलाई समुदायले सत्य मान्ने भएको हुँदा गहिराइमा पुगेर समाचार सम्प्रेषण गर्न उहाँले अनुरोध गर्नुभयो ।

यस्तै साधारण सभाको बन्द सत्रले नेपाल पत्रकार महासङ्घ नवलपुरका सचिव विष्णुप्रसाद गौडेलले प्रस्तुत गर्नु भएको सचिवको प्रतिवेदन र कोषाध्यक्ष बुद्धिराज कडरिया(दीपेश)ले प्रस्तुत गर्नु भएको कोषाध्यक्षको प्रतिवेदन जस्ताको त्यस्तै पारित गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस