शिव माध्यामिक विद्यालयले स्वर्ण महोत्सव सञ्चालन गर्ने

शिव माध्यामिक विद्यालयले स्वर्ण महोत्सव सञ्चालन गर्ने

कावासोती ।  कावासोती नगरपालिका दुईमा रहेको शिव माध्यामिक विद्यालयले यही मङ्सिर २७ गतेदेखि पुस दुई गतेसम्म स्वर्ण महोत्सव सञ्चालन गर्न लागेको छ ।
२०३१ सालमा स्थापना भएको यस विद्यालयले ५० औँ वर्ष प्रवेश गर्न लागेको अवसरमा स्वर्ण महोत्सव आयोजना गर्न लागेको हो । स्वर्ण महोत्सवको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विद्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्ण महोत्सव गर्नुको उद्देश्य , महोत्सवमा सञ्चालन हुने कार्यक्रम लगायतका बारेमा जानकारी गराइएको छ ।
कावासोती दुई नम्बर वडाका अध्यक्ष शिव प्रसाद पाण्डेले स्वर्ण महोत्सवको अवसरमा प्रभात फेरी , समुद्घाटन , स्वर्ण महोत्सव स्तम्भ अनावरण , स्थानीय सास्कृतीक मौलिक नृत्य तथा झाँकी प्रदर्शन , विज्ञान प्रदर्शनी शैक्षिक सामाग्री प्रदर्शनी , स्वास्थ्य शिविर , खाना उत्सव , पूर्व विद्यार्थी तथा शिक्षक पुनर्मिलन , विद्यार्थीको नृत्य प्रतिभा प्रदर्शन , रक्तदान कार्यक्रम , सम्मान तथा पुरस्कार वितरण कार्यक्रम , मैत्रीपूर्ण खेलकुद , जिल्ला स्तरीय चित्रकला ,वक्तृत्वकला प्रतियोगिता , स्मारिका विमोचन , विविध खेलकुद , विद्यालयको कोपिला प्रकाशन र टोल सरसफाइका कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद पौडेलले सम्पूर्ण जनसमुदाय तथा पूर्व विद्यार्थी र सम्पूर्ण आम जनसमुदायलाई स्वर्ण महोत्सव कार्यक्रममा सहभागी भएर आर्थिक तथा नैतिक रूपमा सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । उहाँले स्वर्ण महोत्सवमा एक करोड ५३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग सङ्कलन हुने र करिब ५३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रचार प्रसार उपसमिति संयोजक कपिलदेव भुसालले विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहद्वारा गरिने जानकारी दिनुभयो । उहाँले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि हर सम्भव प्रयास गरिहरेको र समय सापेक्ष अझै कतिपय भौतिक संरचनाहरू निर्माण गर्न विद्यालय असमर्थ रहेको बताउनुभयो । उहाँले शिव मावि कावासोती दुई नम्बर वडाको मात्रै विद्यालय हो भन्ने भाष्य निर्माण भएको भन्दै त्यसो नभै यहाँ जिल्लाका अन्य पालिकाहरूबाट समेत अध्ययन गर्न विद्यालय आउने गरेको बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस