वन श्रोत र कृषिलाई उद्यमसँग जोड्नुपर्छ – प्रदेश सभा सदस्य पाठक

वन श्रोत र कृषिलाई उद्यमसँग जोड्नुपर्छ –  प्रदेश सभा सदस्य पाठक

कावासोती ।  बाग्मती प्रदेश सभा सदस्य  भारती पाठकले वन श्रोत र कृषिलाई उद्यमसँग जोड्नुपर्ने बताउनुभएको छ ।
ग्रिन फाउण्डेशन नेपाल र सामुदायिक वन उपभोक्ता महासङ्घ फेकोफनको आयोजनामा कावासोतीमा आज आयोजना भएको कृषि वन उद्यम प्रवर्द्धन र सामुदायिक वनका सरोकारबालासँग अन्तरकृया तथा उत्पादन प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । पाठकले नेपालको वनमा खेर गइरहेका पातपतिङरबाट जैविक मल बनाएर वन उद्यमसँग जोडिन सकिने र त्यसले वन व्यवस्थापनमा समेत टेवा पुग्ने साथै आगलागी बाट वन जोगाउन पनि सकिने  बताउनुभयो । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको विनयी सामुदायिक वनको उदाहरण दिँदै उहाँले वन पैदावारका विभिन्न उद्योगहरूले महिलाहरूलाई आयआर्जनको राम्रो माध्यम समेत बन्ने बताउनुभयो । वन पैदावारहरू पातबाट दुना टपरी उद्योग , अम्रिसोबाट कूचो , थाकलबाट ब्याग , टोपी तथा सजावटका सामग्री समेत निर्माण गरेर बिक्री  गर्न सकिने बताउनुभयो । उहाँले उत्पादन वृद्धि गरेर , गुणस्तरीय उत्पादन गरी देश विदेशमा समेत निर्यात गर्न सक्ने वातावरण बनाउन सकेमा सफल हुनेमा दुई मत नहुने बताउनुभयो ।
महिलाहरूलाई आर्थिक रूपमा सशक्त बन्नका लागि वन पैदावारका उद्यमहरू सहयोगी बन्ने भन्दै महिलाहरू पनि घरमा त्यसै बस्न भन्दा  केही न केही उद्यम गरेर आयआर्जनमा जोडिन समेत अनुरोध गर्नुभयो । आर्थिक रूपमा सबल हुन सके , हिंसा समेत न्यूनीकरण  हुने उहाँको जोड थियो ।

कार्यक्रममा बोल्दै कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतले महिलाहरूले उद्यमसँग जोडिएर आयआर्जन गर्न अनुरोध गर्नुभयो । उहाँले पालिकाले समेत महिलाहरूका लागि विभिन्न सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै आफूले पाएको सीपको सदुपयोग गरेर व्यवसायमा जोडिनका लागि सबैमा अनुरोध गर्नुभयो ।
देवचुली नगरपालिका उपप्रमुख  पार्वता तिवारीले महिलाहरूलाई उद्यमी बनाउनका लागि देवचुली नगरपालिकाले समेत बजेट विनियोजन गरेको जानकारी दिँदै  उद्यमी महिलाहरूका कार्यक्रम र उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
यसै गरी डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले नवलपुरमा काठको समस्याको बारेमा चर्चा गर्नुहुँदै सरकारको नितिका कारण काठ बिक्री वितरणमा समस्या आएको जिकिर गर्नुभएको थियो । उहाँले काठ उत्पादन , राजश्व सङ्कलनका हिसाबले नवलपुर जिल्ला गण्डकी प्रदेशमै उत्कृष्ट जिल्ला भए पनि बेलाबेलामा सरकारको निति नियम फेरबदल भइरहदा समस्या अउाने  गरेको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश सदस्य धना पाण्डे , वन पैदावार महासङ्घ गण्डकी प्रदेश उपाध्यक्ष विश्व अधिकारी , देवचुली स्थानीय महासङ्घका अध्यक्ष कृष्ण प्रसाद तिवारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा ग्रिन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डे , सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला कार्यसमिति , स्थानीय पालिका समिति तथा उपभोक्ता र सरोकारवालाहरूका प्रमुख तिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ग्रिन फाउण्डेशन नेपालका कार्यक्रम अधिकृत अर्विन पौडेलले ग्रिन फाउण्डेशन नेपालको परिचय तथा यस संस्थाले गर्दै आएका कार्यक्रमहरूका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले यस संस्थाले वन पैदावारमा उद्यमलाई जोड्दै आयआर्जनमा जोडिने खालका कार्यक्रमलाई बढी प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरकी अध्यक्ष मना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रिल कुमारी
तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो । भने , ग्रिन फाउण्डेशन नेपाल नवलपुरकी सचिव दुर्गादेवी विष्टले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै सामुदायिक वन उपभोक्ता महासङ्घले विशेष गरेर महिलाहरूलाई आयआर्जन जोड्नका लागि प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरेको  बताउनुभयो ।

कार्यक्रममा नवलपुर भित्र रहेका सामुदायिक वनहरुले उत्पादन गरेका हस्तकलाका सामग्री तथा जडबुटी, जैविक मल प्रदर्शनमा राखिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस