नवलपुर । नेपाल रेडक्रस सोसाइटी नवलपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाको आतिथ्यतामा कावासोतीमा रहेको उपशाखाको भवनमा आजबाट दु दिने जुनियर÷युवा रेडक्रस जिल्ला समिति तेस्रो जिल्ला गोष्ठी सुरु भएको छ ।
गोष्ठीको आज एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उद्घाटनमा बोल्दै भुसालले रेडक्रस संस्था सामाजिक काम गर्ने संस्था भएकाले यसले समुदायमा परेको दुःखमा मलहम लगाउने काम गर्दै आएको बताउनुभयो । उहाँले रेडक्रस अभियानमा विद्यालय स्तरबाट नै विद्यार्थी तथा युवाहरूलाई जोड्ने कामले उनीहरुमा सामाजिक भावना र मानवियताको भावना विकास हुनेमा जोड दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी नवलपुरका सभापति डिल्लीराम कडरियाले गाउँ गाउँमा रेडक्रस अभियानका बारेमा जानकारी गराउनुका लागि यस गोष्ठी आयोजना गरेको बताउनुभयो ।
गोष्ठीको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्र , प्रदेशका पदाधिकारीहरू , जनप्रतिनिधिहरू प्रहरी, प्रशासन नेपाल पत्रकार महासङ्घ तथा सरोकारवाला निकायमा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
दुई दिनसम्म आज र भोली सञ्चालन हुने गोष्ठीमा जिल्लाका ८३ वटा विद्यालयबाट गरी करिब ३०० जनाको सहभागिता रहेको छ । एक विद्यालयबाट शिक्षक तथा विद्यार्थी गरी तीन जनाको सहभागिता रहेको नेपाल रेडक्रस नवलपुरका कोषाध्यक्ष वेद प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
गोष्ठीमा रेडक्रस अभियान , लागु औषध विरुद्धको सचेतनामूलक कार्यक्रम , प्राथमिक उपचार सम्बन्धी कार्यक्रम , खानेपानी तथा सरसफाइ सचेतना , युवा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण , साइबर अपराध सम्बन्धी जनचेतना , जीवन उपयोगी सीप , जुनियर युवा रेडक्रसको कोष वृद्धि । जुनियर युवा रेडक्रसको साङ्गठनिक विकास लगायतका कक्षा सञ्चालन गरिने जिल्ला रेडक्रसका मन्त्री तीर्थराज कँडेलले जानकारी दिनुभयो ।