नवलपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर कानुनी परामर्श कार्यक्रम गरी नवलपुर जेसीजले जेसीज सप्ताह समापन गरेको छ ।
कावासोती नगरपालिका वडा नम्बर तीनको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा अधिवक्ता राधा सिग्देलले कानुनी सचेतना प्रदान गर्नुभएको हो ।
कार्यक्रममा वडामा रहेका आमा समूह तथा टोल विकास संस्थामा आबद्ध रहेका र सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिहरुलाई लैङ्गिक हिंसा भनेको के हो ? समुदायमा कस्ता प्रकारका लैङ्गिक हिंसा व्याप्त छन् ? लैङ्गिक हिंसा न्यूनीकरण गर्न के गर्न सकिन्छ ? लैङ्गिक हिंसा समाधान गर्नका लागि नेपालमा के कस्ता कानुन छन् ? कानुनी प्रक्रिया के कस्तो छ ? लगायतका विषयमा अधिवक्ता सिग्देलले जानकारी गराउनुभएको थियो ।
अधिवक्ता सिग्देलले लैङ्गिक समानताका लागि कानुनी व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नेपालमा बोक्सीको आरोप ( कसुर तथा सजाय ) ऐन २०७२ , मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ , कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ , घरेलु हिंसा – कसुर र सजाय ) २०६६ , छाउपडी विरुद्धको कानुन छाउपडी प्रथा उन्मुलन निर्देशिका २०६४ , एसिड तेजाब प्रहार विरुद्धको कानुन , मुलुकी देवानी संहिता २०७४ , मुलुकी अपराध संहिता २०७४ , गम्भीर कसुरमा मिलापत्र गराउने विरुद्धको कानुन रहेको जानकारी गराउनुभयो । यी कानुनले लैङ्गिक हिंसामा परेकालाई न्याय दिलाउनका लागि पर्याप्त रहेको तर नेपाली समुदायमा रहेका विभिन्न खाले संस्कार संस्कृति , परम्परागत सोच पितृसत्तात्मक सोच आदिका कारण सफल रूपमा कार्यान्वयन हुन नसक्दा पीडितले छिटो छरितो रूपमा न्याय पाउन नसकिरहेको उहाँले बताउनुभयो ।
जेसीज सप्ताह अन्तरगत नवलपुर जेसीजले कावासोती ६ विष्णुनगरमा वित्तीय साक्षरता कार्यक्रम, कावासोती १२ पिठौलीमा रहेको लक्ष्मी नारायण वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम , कावासोती ३ मा रहेको जनविकाश विद्याश्रमका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण लगायतका कार्यक्रम सम्पन्न गरेको नवलपुर जेसीज वर्ष २०२४ का अध्यक्ष अनु सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रम वडा नम्बर तीनका अध्यक्ष डोरमान गिरीको प्रमुख आतिथ्यता तथा नवलपुर जेसीज वर्ष २०२४ का अध्यक्ष अनु सिग्देलको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा सदस्यहरू ऋषि बस्ताकोटी, रण बहादुर थापा , बसन्ती कुवर केसी , सावित्री रसाइली लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडामा रहेका आमा समूह तथा टोल विकास संस्थामा आबद्ध रहेका र सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधि समेत गरी करिब ५० जनाको सहभागिता रहेको नवलपुर जेसीजकी उपाध्यक्ष मनीषा पौडेलले जानकारी दिनुभयो ।