कावासेती । नेकपा एमाले कावासोती नगर कमिटी सदस्य बाबुराम मरासिनीका ममतामयी माता बुद्धिकला उपाध्याय मरासिनीको सातौँ दिनको पुण्य तिथिमा शोक सभा भएको छ । कावासोती नगर कमिटी र वडा नम्बर ३ कमिटीको आयोजनामा बिहीबार ( आज ) कावासोती तीन स्थित निवासमा शोक सभा भएको हो ।
बुद्धिकला उपाध्याय मरासिनीको यही मङ्सिर १४ गते ९९ वर्षको उमेरमा निधन भएको हो ।
नगर कमिटी अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महतको प्रमुख आतिथ्यतामा शोक सभा सम्पन्न भएको हो । शोक सभामा जिल्ला कमिटी सदस्य भेष बहादुर अधिकारीले दिवङगत बुद्धिकला मरासिनिको जीवनी वाचन गर्दै उहाँले आफ्नो जीवनकालमा नेकपा एमाले पार्टी प्रति गरेको योगदान स्मरण गराउनुभएको थियो । चार छोरा र एक छोरी जन्माउनुभएकी बुद्धिकला २०३३ सालमा श्रीमान् गुमाएर एकल महिला भएर पनि आफ्ना सन्तानको पालनपोषणमा कुनै पनि कमी नगराई अहोरात्र खटिएर सही मार्ग निर्देशन गर्न सफल हुनुभएको बताउनुभयो । दिवङगत बुद्धिमायाले आफ्ना सबै सन्तानलाई नेकपा एमालेमा लाग्न प्रेरित गर्दै पार्टीको हितका लागि सदैव लागिरहेको भन्दै उहाँको देहवसानले नेकपा एमाले सिगो पार्टी पङतीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
शोक सभामा बोल्दै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महतले जन्म मृत्यु भनेको कसैले रोकेर र छेकेर नछेकिने भएको हुँदा दुखको यस घडीमा शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो । करिब एक शताब्दीको उमेरसम्म घरपरिवार र समाजका लागि प्रेरणाको श्रोत बनेर दिगत हुनुभएकी बुद्धिमायाले पार्टी प्रति गरेको योगदानलाई पार्टीले कहिल्यै नबिर्सने बताउनुभयो ।
यसै गरी नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले दिवङगत हुनुभएकी बुद्धिमायाप्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँको योगदानको चर्चा गर्नुभएको थियो । मरासिनी परिवार नवलपुरको कावासोतीमा बसाइसराइ गरेर आएपछि नेकपा एमालेप्रति समर्पित भएर पार्टीको हितमा लागिरहेको र त्यसमा बुद्धिमायाको ठुलो योगदान रहेको बताउनुभयो ।
शोक सभामा गण्डकी प्रदेश कमिटी सदस्य नारायण तिमिल्सीना , जिल्ला कमिटी सचिव भिमलाल कँडेल , जिल्ला कमिटी सदस्यहरू भोजराज दाहाल , कावासोती वडा नम्बर तीनका अध्यक्ष डोरमान गिरी लगायत जिल्ला कमिटी तथा वडा र टोल कमिटीका पदाधिकारी एवम् सदस्यहरूको सहभागिता रहेको थियो ।