नवलपुर र पाल्पा जोड्ने सडक, तीन करोड बढीको लागतमा स्तरोन्नति हुँदै

नवलपुर र पाल्पा जोड्ने सडक, तीन करोड बढीको लागतमा स्तरोन्नति हुँदै

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका र पाल्पा जिल्ला जोड्ने सडक स्तरोन्नति कार्य सुरु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका पाँचमा पर्ने धुर्कोट – ओखरीगौडा हुँदै पाल्पा जोड्ने सडक , तीन करोड बढीको लागतमा स्तरोन्नति हुन लागेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बजेटबाट काम सुरु भएको हो । 
पाँच किलोमिटर लामो सडक खण्डमा कालोपत्रे तथा आवश्यकता अनुसार ढलान गर्ने गरी काम सुरु भएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो । यस सडक खण्ड निर्माण भएपछि दुई जिल्ला नवलपुर र पाल्पाका बासिन्दा लाभान्वित हुने उहाँले बताउनुभयो । पालिकाको पहाडी क्षेत्रमा पर्ने यस सडक खण्डको निर्माणले आवतजावतमा मात्रै नभई यस क्षेत्रमा उत्पादन भएका कृषि उपजहरूको बजारीकरणमा समेत टेवा पुग्ने अध्यक्ष गिरीले बताउनुभयो । पालिकामा रहेका मुख्य सडकको स्तरोन्नतिका लागि आफूले सङ्घ तथा प्रदेश सरकारसङ पहल गर्ने कार्य गर्दै आएको र फल स्वरूप काम पनि सुरु गर्न सफल भएको उहाँले बताउनुभयो ।
तीन करोड ३५ लाख, ९८ हजार ९६८ रुपैयाँ लागतमा , २०८३ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी, रोजिना मायरा जे.भि. हेटौडासँग गत जेठ ३० गते सम्झौता भएको हो । सम्झौताको मितिले दुई वर्ष भित्र यस सडक खण्डको निर्माण सम्पन्न गर्नुपर्ने छ ।
यसैबिच उक्त सडक खण्डको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । पूर्व सङ्घीय सांसद तिलक महतको प्रमुख आतिथ्यता तथा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डे , गाउँपालिका अध्यक्ष धनश्याम गिरी , उपाध्यक्ष भगवती वैदवारको विशेष आतिथ्यतामा जनप्रतिनिधि र स्थानीय अगुवाहरू समेतको सहभागितामा शिलान्यास कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै पूर्व सङ्घीय सांसद तिलक महतले सङ्घीयता आएपछि ग्रामीण क्षेत्रहरूमा समेत विकासले फड्को मारेको बताउनुभयो । सङ्घीयताबाट सबैभन्दा बढी नवलपुर जिल्लालाई नै फाइदा पुगेको उहाँको भनाई थियो । उहाँले सडक मात्रै नभई यहाँका अन्य विकास निर्माणका काम पनि क्रमशः हुने बताउनुभयो ।
यस्तै गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डेले आफूले आफ्नो गाउँ ठाउँको विकासका लागि प्रदेश सकारकासंग बजेट तथा कार्यक्रमका लागि पहल गर्ने काम गरिरहेको बताउनुभयो । सर्दी क्षेत्रमा बाटो घाटो , शिक्षा , स्वास्थ्य , खानेपानी लगायतका पूर्वाधार विकासका योजनाहरू ल्याएर सहज बनाउने काममा आफू सदैव लागिरहने प्रतिबद्धता जाहेर गर्नुभयो ।
यवैबिच विनयी त्रिवेणी –५ को खकारा खोलामा बनेको मोटरेवल पुलको समेत उद्घाटन गरिएको छ । पूर्व सङ्घीय सांसद तिलक महतले सो पुलको उद्घाटन गर्नुभएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस