नवलपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला अधिकारका लागि राष्ट्रिय अभियान नवलपुरले बुधवार ( आज ) सार्वजनिक यातायातमा सचेतना मूलक स्टिकर टाँस्ने कार्यक्रम गरेको छ ।
विनयी त्रिवेणी गाउँपालिकाको दुम्किबास बजारमा सार्वजनिक यातायातमा महिला हिंसा विरुद्ध सचेतना जगाउने खालका स्टिकर टाँसेर अभियान मनाएको महिला अधिकारका लागि राष्ट्रिय अभियान नवलपुरकी अध्यक्ष भुना पङ्गेनीले जानकारी दिनुभयो । सार्वजनिक स्थल तथा सवारी साधनमा महिला तथा किशोरीहरूमाथि हुने हिंसाको खुलेर प्रतिकार गरौँ , आफूमाथि हिंसा भएमा तत्कालै खबर गरौँ भन्ने खालका सचेतना मूलक सन्देश र हिंसा भएमा सम्पर्क गर्न सकिने टोल फ्री नम्बर उल्लेख गरिएको सचेतना मूलक स्टिकर टाँसेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको अध्यक्ष पङ्गेनीले बताउनुभयो । सोही क्रममा गाउँपालिका र प्रहरी कार्यालयको सवारीमा समेत स्टिकर टाँसिएको पङ्गेनीले बताउनुभयो ।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती महिला , महिला अधिकारका लागि राष्ट्रिय अभियानका केन्द्रीय महासचिव कल्पना विन्दु गौतमले बोल्दै सार्वजनिक यातायातमा महिला तथा किशोरीहरूमा नै बढी हिंसा हुने भएकाले हिंसा भएमा कुनै पनि महिला तथा किशोरीहरू सहेर बस्न नहुने त्यसको खुलेरै प्रतिकार गर्नुपर्नेमा जोड दिनुभएको थियो । यस्तै महिला हिंसा अन्त्यका लागि घरैबाट सुरुआत गर्नुपर्ने बताउनुभएको थियो । १६ दिनको अभियानमा मात्रै नभइ हरेक दिन महिला हिंसाको अन्त्य गर्नका लागि सबै मिलेर हातेमालो गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दुम्किबास र विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । अभियान अन्तरगत विभिन्न प्रकार सवारी साधनमा ३५ वटा सचेतना मूलक स्टिकर टाँस्ने कार्य भएको पङ्गेनीले जानकारी दिनुभयो ।
कार्यक्रम भुना पङ्गेनीको अध्यक्षता तथा विनयी त्रिवेणी गाउँ पालिका उपाध्यक्ष भगवती वैदबारको प्रमुख आतिथ्य तामा भएको हो ।