लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान :कावासोतीमा अभिमुखीकरण

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान :कावासोतीमा अभिमुखीकरण

नवलपुर । ‘‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सोमबार ( आज ) आठौँ दिन चलिरहेको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कावासोती नगरपालिकाले सोमबार ( आज ) अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा पालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय , क्याम्पस तथा सिकाई केन्द्रका लैङ्गिक सम्पर्क शिक्षकहरू , वडाबाट प्रतिनिधिमूलक रूपमा वडा सदस्यहरू , र विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधीहरुलाई अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा लैगिक हिंसा भनेको के हो ? समुदायमा कस्ता प्रकारका लैङ्गिक हिंसा व्याप्त छन ? लैगिक हिंसा न्यूनीकरण गर्न के गर्न सकिन्छ ? लैगिक हिंसा समाधान गर्नका लागि नेपालमा के कस्ता कानुन छन् ? कानुनी प्रक्रिया के कस्तो छ ? लगायतका विषयमा विषय विज्ञ तथा सम्बन्धित निकायबाट प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा प्रस्तुति राख्दै प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले पछिल्लो समय वैदेशिक रोजगारीबाट पनि लैङ्गिक हिंसा निम्तिरहेको बताउनुभयो । वैदेशिक रोजगारीले महिलाहरू नै बढी प्रभावित भएको उहाँको भनाई थियो । उहाँले वैदेशिक रोजगारीमा गएका महिलाहरू र श्रीमान विदेश भएर नेपालमै रहेका महिलाहरुले बढी लाञ्छना सहनुपर्ने अवस्था समाजमा देखिएको बताउनुभयो । कतिपय पुरुषहरूले पनि वैदेशिक रोजगारीबाट फर्किदा श्रीमतीका कारण समस्या झेल्नु परेको कुरा बाहिर आए पनि तथ्याकं गत रूपमा नवलपुरमै गरिएको अध्ययनले त्यस्तो अवस्था नरहेको , पुरुषभन्दा महिलाहरू नै बढी प्रभावित बनेको उहाँको भनाई थियो ।
यसै गरी कार्यक्रममा अधिवक्ता राधा सिग्देलले लैगिक समानताका लागि कानुनी व्यवस्थाका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले नेपालमा बोक्सीको आरोप ( कसुर तथा सजाय ) ऐन २०७२ , मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ , कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ , घरेलु हिंसा – कसुर र सजाय ) २०६६ , छाउपडी विरुद्धको कानुन छाउपडी प्रथा उन्मुलन निर्देशिका २०६४ , एसिड तेजाब प्रहार विरुद्धको कानुन , मुलुकी देवानी संहिता २०७४ , मुलुकी अपराध संहिता २०७४ , गम्भीर कसुरमा मिलापत्र गराउने विरुद्धको कानुन रहेको जानकारी गराउनुभयो । यी कानुनले लैगिक हिंसामा परेकालाई न्याय दिलाउनका लागि पर्याप्त रहेको तर नेपाली समुदायमा रहेका विभिन्न खाले संस्कार संस्कृति , परम्परागत सोँच पितृसत्तात्मक सोँच आदिका कारण सफल रूपमा कार्यान्वयन हुन नसक्दा पीडितले छिटो छरितो रूपमा न्याय पाउन नसकिरहेको उहाँले बताउनुभयो ।
यसै गरी कार्यक्रममा पूर्व न्यायधिश ऋषि अधिकारीले पनि लैगिक हिंसाका सन्दर्भमा आफूले काम गर्दै गर्दा अनुभव गरेका समस्याहरूका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले हिंसामा परेका व्यक्तिहरुमा खास गरी महिलाहरूलाई अदालतसम्म गएर मुद्दा हाल्ने कुरामा समाज र कानुनी प्रक्रियाका कारण निकै समस्याहरू झेल्नुपर्ने हुँदा पनि न्यायका लागि लड्न भन्दा त्यसै सहेर बस्ने गरेको बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र ( महिला सेल ) प्रमुख विन्दु विकले जिल्लामा विगत तीन वर्षको अवधिमा भएका अपराध तथा हिंसाको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख विकले जघन्य प्रकृतिको अपराधका घटनामा जबरजस्ती करणीको अवस्था हेर्दा जिल्लामा निकै चिन्ताजनक रहेको बताउनुभयो । साना साना बालिकाहरू नै बढी यौनजन्य हिंसाबाट पीडित भएको बताउनुभयो । प्रहरीकोमा आउने हिंसाका पीडितहरु अधिकांश महिलाहरू नै हुने भन्दै उहाँले पुरुषको तुलनामा महिलाहरू माथि नै बढी हिंसा हुने गरेको तथ्यांकले समेत पुष्टि गरेको बताउनुभयो ।
कार्यक्रम नगर प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको थियो । उपप्रमुख फूल कुमारी थनेत , शिक्षा शाखा अधिकृत राजन पाण्डे , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशीला तिमिल्सीना लगायत पालिकलाका विभिन्न विषयगत शाखाका प्रतिनिधि समेतको सहभागिता रहेको थियो ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुभद्रा शर्माले सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस