राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : जनकल्याण मावि कावासोतीद्धारा तयारी सुरु

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : जनकल्याण मावि कावासोतीद्धारा तयारी सुरु

कावासोती । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत हुने पालिका तथा जिल्ला स्तरीय खेलका लागी कावासोती एकमा रहेको जनकल्याण माध्यामिक विद्यालयले तयारी सुरु गरेको छ ।


यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी पाएको यस विद्यालयले प्रतियोगिता सञ्चालन गर्ने खेलकुद मैदान व्यवस्थापन गर्ने देखी विभिन्न उपसमिति गठन तथा समुदाय स्तरमा छलफलका कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले बताउनुभयो ।
विद्यालयले यस प्रकारको ठुलो प्रतियोगिता पहिलो पटक सञ्चालन गर्न लागेकोले यस कार्यक्रमलाई सफल रूपमा सम्पन्न गरी विद्यालयले सबै पक्षसङ समन्वय सहकार्य गरिरहेको प्र अ गिरीले बताउनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक सुदीप विश्वकर्माले प्रतियोगिता सञ्चालनका लागि खेलकुद मैदान सरसफाई तथा व्यवस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । खेलकुद मैदानमा आवश्यक पर्ने खानेपानी , सहभागिका लागि खाना नास्ताको व्यवस्थापन लगायतको तयारीका लागि समेत सामुदायिक स्तरको भेला गरी विभिन्न उपसमिति गठन गरेको जानकारी दिनुभयो । विद्यालयले पहिलो पटक ठूलो प्रतियोगिता सञ्चालन गर्न लागेको हुँदा यस प्रतियोगिताले कावासोती एक रिठेपानी र जनकल्याण माविलाई परिचित बनाउन टेवा पुग्ने उहाँले बताउनुभयो ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आशा ब्लोन गैह्रेले विद्यालयमा सञ्चालन हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आफनो विद्यालयले सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको भन्दै यस प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्न टेवा पुग्ने बताउनुभयो । कावासोतीको पछि परेको बस्तीका रूपमा चिनिने रिठेपानीलाई जिल्लाका सबै क्षेत्रमा परिचित बनाउन यस प्रतियोगिताले सहयोग पुग्ने उहाँले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्नका लागि आर्थिक पाटो सबैभन्दा महत्त्वपूर्ण पाटो भएको हुँदा नगर र वडाले रकम विनियोजन गरिसकेको र समुदायका विभिन्न सहयोगीदाता र सङ्घसंस्थाबाट सहयोग सङ्कलन गर्ने कार्य भएको गैरेले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न करिब एघार लाख खर्च हुने अनुमान गरिएको उहाँको भनाई छ ।

कावासोती वडा नं. एकका अध्यक्ष तवारक अहमद मियाले वडाभित्र रहेको विद्यालयले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्न लागेको हुँदा यो प्रतियोगिता वडाकै गौरवको रूपमा आफूले हरेको बताउनुभयो । वडाले खेलकुद मैदान व्यवस्थापन गर्न दुई लाख ५० हजार बजेट विनियोजन गरिएको बताउनुभयो । नगरबाट पाँच लाख विनियोजन भएको उहाँले बताउनुभयो । वडाले यस प्रतियोगिता सफल पार्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । अध्यक्ष मियाले यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रति रुचि जगाउन मदत पुग्ने बताउनुभयो । सामाजिक सञ्जालमा झुम्मिरहने युवा वर्गलाई आफ्नै ठाउँमा यस प्रकारको खेलकुद कार्यक्रम हुँदै गर्दा खेलमा सहभागी हुन प्रेरित गर्ने काम गर्ने बताउनुभयो ।


विद्यालयका प्र अ गिरीराज गिरीका अनुसार पालिका स्तरीय र जिल्ला स्तरीय दुवै प्रतियोगिता एकै पटक सञ्चालन गर्ने तयारी रहेकोले मिति तय गर्ने विषयमा पालिका तथा खेलकुद विकास समितिसङ छलफल समन्वय गर्ने कार्य भइरहेको छ । सकेसम्म मङ्सिर अन्तिम साता वा पुस पहिलो साता प्रतियोगिता सञ्चालन गर्ने योजना रहेकोले सोही अनुसार विद्यालयले तयारी गरिरहेको उहाँको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस