नवलपुर । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी प्रदेश गौरवको आयोजना कोरला–पोखरा–त्रिवेणी मार्गसहित जिल्लाका आयोजनाको निरीक्षणमा निस्किनुभएको छ ।
सोही क्रममा मन्त्री केसी बुधवार ( आज) कावासोतीका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । जिल्ला समन्वय समिति नवलपुरको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुनुभएका मन्त्री केसीले छोटो कुरा राख्दै आफ्ना कार्यालयबाट आगामी बजेटमा नवलपुर जिल्लाको विकासका लागि आवश्यकता अनुसार बजेट व्यवस्थापन गर्न पहल गर्ने बताउनुभयो । उहाँले यहाँको यातायात कार्यालयको भवन निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने समेत बताउनुभयो । उहाँले आफू बजेट आइसकेपछि मात्रै सरकारमा सहभागी भएको हुँदा आउँदो बजेटमा जिल्ला समन्वयसङ समन्वय गर्दै विकास निर्माणको काम अगाडी बढाउने बताउनुभयो ।
उक्त कार्यक्रममा पूर्व सङ्घीय सांसद तिलक महतले नवलपुरमा विकास निर्माणमा देखिएका समस्या र सम्भावना तथा चुनौतीका बारेमा मन्त्रीलाई अवगत गराउनुभएको थियो । उहाँले नलवुरमा बन्दै गरेको नमुना सदरमुकाम , त्रिवेणी दुम्किवास सडक खण्ड निर्माण लगायतका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले यातायात कार्यालयको भवन निर्माणका लागि बजेटको सुनिश्चितता गर्न समेत मन्त्री केसी समक्ष सुझाव राख्नुभयो ।
यस्तै कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले पनि मन्त्री समक्ष जिल्लाका विभिन्न समस्याहरूका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले नमुना सदरमुकाम निर्माण गर्न नसक्नु , आफ्नै जिल्लाबाट प्रदेश राजधानी सम्म पुग्न नसक्नु , देशकै ठुलो फलाम खानी सञ्चालनमा आउन नसक्नु लगायतका समस्या उहाँले उजागर गर्नुभयो । भने , नवलपुर जिल्ला नयाँ जिल्ला भएको र शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेकाले यहाँ थोरै बजेटले नपुग्ने भन्दै यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
यसै गरी कार्यक्रममा जिल्ला समन्वय समितका प्रमुख बाबुराम विश्वकर्माले नवलपुर जिल्लाको नमुना सदरमुकाम बनाउँदै गर्दा प्रदेश कार्यालयबाट प्रदेश मातहतका कार्यालयका लागि बजेट विनियोजन हुनुपर्ने बताउनुभयो । उहाँले बुटवल नारायणगढ सडक खण्ड निर्माणले गति लिन नसक्दा निकै समस्या भएको भन्दै प्रदेश सरकारले समेत यस सडक निर्माणको बारेमा सङ्घ सरकारलाई घच्घच्याउने काम गर्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सकुन्तला लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
मन्त्री केसी नेतृत्वको टोलीले बुधबार त्रिवेणी सम्म निरीक्षणमा पुगेको छ । दुम्कीबास –त्रिवेणी सडक खण्डको बारेमा बुझ्नका लागि मन्त्री सहितको टोली त्रिवेणीसम्म पुगेको हो । दुई छिमेकी देश चीन र भारत जोड्ने यो सडकको दुम्कीबासदेखि त्रिवेणीसम्मको क्षेत्रमा समस्या बुझ्न मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी स्थलगत निरीक्षणमा आएको हो ।
मन्त्री केसी नेतृत्वको टोलीले हिजो मङ्गलवार तनहुँको भीमाद, घिरिङ, नवलपुरको बौदीकाली गाउँपालिकामा प्रदेश सरकारले लगानी गरेका योजनाको निरीक्षण गरेको थियो ।