लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रम कावासोतीमा

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रम कावासोतीमा

नवलपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रम नवलपुरको कावासोतीमा भएको छ ।
‘‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको हो ।
सामाजिक विकास कार्यालय नवलपुरको आयोजनामा सोमबार ( आज ) एक कार्यक्रमका बीच अन्तरक्रिया तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र ( महिला सेल ) प्रमुख विन्दु विकले जिल्लामा विगत तीन वर्षको अवधिमा भएका अपराध तथा हिंसाको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।
उहाँले चालु आर्थिक वर्षको चार महिनामा जघन्य अपराध अन्तरगत जबरजस्ती करणीमा ६ वटा मुद्दा दर्ता भएको , जबरजस्ती उद्योगमा एउटा , बाल यौन दुव्यवहारमा ३ वटा र बहुविवाहमा २ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।
यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा जबरजस्ती करणीमा २३ वटा मुद्दा दर्ता भएको थियो भने , आर्थिक वर्ष २०७९ ÷०८० मा ११ वटा र आर्थिक वर्ष २०८० ÷०८१ मा २५ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको जानकारी दिनुभयो । यो अवधिमा तीन वर्षको बालिकादेखि ६५ वर्षको महिला समेत जबरजस्ती करणीमा परेको महिला सेल प्रमुख विकले बताउनुभयो । जघन्य प्रकृतिको अपराधका घटनामा जबरजस्ती करणीको अवस्था हेर्दा जिल्लामा निकै चिन्ताजनक रहेको उहाँले बताउनुभयो । साना साना बालबालिकाहरू नै बढी यौनजन्य हिंसाबाट पीडित भएको उहाँको भनाई छ ।
यस्तै महिला सेल प्रमुख विकले चालु आर्थिक वर्षमा चार महिनाको अवधिमा ३८ वटा घरेलु हिंसाका निवेदन दर्ता भएको र जसमध्ये ३० वटा मिलापत्र भएको र आठ वटा प्रक्रियामा रहेको जानकारी गराउनुभएको थियो । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा १३१ वटा घरेलु हिंसाको निवेदन दर्ता भएकोमा पाँच जना पुरुषले दर्ता गरेको र बाँकी सबै महिलाबाट दर्ता भएको बताउँदै उहाँले सबै घटनामा मिलापत्र भएको जानकारी दिनुभयो । यसै गरी आर्थिक वर्ष २०७९ ÷०८० मा १११ वटा दर्ता भएकोमा ११० वटा मिलापत्र भएको र जना अन्यत्र गएकाले मिलापत्र हुन नसकेको बताउनुभयो । यस्तै आर्थिक वर्ष २०८० ÷०८१ मा ८१ वटा मुद्दा घरेलु हिंसामा दर्ता भएकोमा ७८ वटा मिलापत्र भएको र ३ वटा बाँकी रहेको जानकारी दिनुभयो ।
मध्यविन्दु जिल्ला अस्पतालको लैङ्गिक हिंसा सम्बन्धी एकद्वारा सङ्कट व्यवस्थापन केन्द्रमा वार्षिक रूपमा हिंसा पीडितहरू आउनेक्रम बढ्दो रहको मेडिकल अधिकृत डा. अविनास पोख्रेलले जानकारी दिनुभयो उहाँले प्रस्तुत गरेको तथ्याङ्क अनुसार गत वर्ष ७० जना हिंसा पीडितलाई केन्द्रबाट उपचार गरिएको थियो । भने अघिल्लो वर्ष ४८ जनालाई उपचार गरिएको थियो । चालु आर्थिक वर्षको चार महिनामा यस केन्द्रबाट ३१ जनाको उपचार लगायतको सेवा प्रदान गरिएका मेडिकल अधिकृत डा. अविनास पोख्रेलले जानकारी दिनुभयो ।
सामाजिक विकास कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले १६ दिने अभियान समुदायमा सचेतना जगाउने गरी मनाउने निर्देशन अनुसार आज अन्तरक्रिया गर्दै शुभारम्भ गरिएको बताउनुभयो । उहाँले १६ दिनसम्म जिल्लाको विकट पहाडी क्षेत्रसम्म पुगेर हिंसा विरुद्ध सचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । विद्यालय स्तरीय तथा समुदाय स्तरीय , पालिका स्तरीय विभिन्न कार्यक्रमहरू यस अभियानमा गरिने भन्दै उहाँले हिंसा न्यूनीकरणमा सबै मिलेर हातेमालो गर्दै अघि बढ्न आग्रह गर्नुभयो । मातहतको कार्यालय मात्र नभई सबै निकायले यस्ता अभियानलाई सफल बनाउनका लागि अग्रसर हुन उहाँले सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा विद्यालय , बालबालिका , नेपाल पत्रकार महासङ्घ लगायतबाट प्रतिनिधि मूलक आफ्नो आफ्ना भनाई तथा सुझावहरू राख्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले अभियानलाई केही नयाँ र फरक ढङ्गबाट मनाउनका लागि सबैमा अनुरोध गर्नुभयो । उहाँले समुदायलाई सचेतना प्रदान गर्गनेरि सबैको अपनत्व हुने गरी अभियानका कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै उहाँले समुदायमा हुने हिंसाका घटना न्यूनीकरण गर्न सम्बन्धित पक्षले परिणाम मुखी काम गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको समयमा समुदाय शिक्षित हुँदै गएको अवस्थामा समेत हिंसाका घटनाहरू बढ्नु , शिक्षित वर्गबाट नै हिंसा हुनु अनुसन्धानको विषय बनेको भन्दै उहाँले सरोकारवाला सबै मिलेर यस विषयमा गम्भीर भएर लाग्नुपर्ने उहाँको जोड थियो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस