मध्यबिन्दु नगरपालिकामा जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्याण्डसगको साझेदारीमा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा भित्रका सरोकारवालालाई अभिमुखिकरण कार्यक्रम गरिएको सस्थाका कार्यक्रम अधिकृत राधा बोटेले बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला बालबालिका तथा जेष्ठ नगरिक सेलका प्रमुख विन्दु वि।क ले बालबालिका , किशोरकिशोरी, महिला माथी हुने विभेद, हिंसा, दुर्व्यवहारहरु त्यसले पारेका नकारात्मक प्रभावहरु, त्यस्ता समस्याहरुको अवस्था र तथ्यांक तथा समस्या समाधानका लागि गर्दै आएका अभ्यासहरु र सरोकारवालाले गर्न सकिने कार्यको बारेमा सहजीकरण गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालको पृष्ठभुमि, यसले गर्ने कार्यहरु, किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत टोल, समुदाय, विद्यालय, वडा तथा पालिकाहरुमा गर्दै आएका कार्यक्रमहरु, बाल अधिकार, किशोरी अधिकार संरक्षण र बालमैत्री अभियानमा अभिभावक सरोकारवालाको भुमिकाको बारेमा कार्यक्रम अधिकृत राधाबोटेले जानकारी गराउनु भएको थियो
कार्यक्रममा सहभागीहरुले समुदायमा बालबालिका, किशोरकिशोरीहरु र महिलाहरुसँग सम्बन्धित भइरहेका विभिन्न समस्याहरुको बारेमा सम्बोधन गर्दै अनुभवहरु पनि बताउनु भएको थियो ।
कार्यक्रममा मध्यविन्दु वडा नं ३ का वडाअध्यक्ष मान बहादुर महतोले जनप्रतिनिधिहरु सँगै टोल समुदायहरुको पनि समस्याहरु समाधानमा समान भुमिका हुनाले सबैले आ(आफ्नो क्षेत्रबाट सक्दो पहल गर्न, टोल समुदायमा विभिन्न संघ संस्था र वडाले गरेका गतिविधिहरुको सूचना तथा तथ्यांकहरु व्यवस्थित गरि राखेमा आगामी दिनमा कार्यक्रमले गर्दा केकस्ता उपलब्धि भए र अझै सुधार गर्दै जानु पर्ने पक्षको बारेमा पुनर्ताजगी हुने कुरा बताउनु भएको थियो ।
साथै उहाँले आगामी दिनमा संस्थाले गर्ने बालबालिका, अभिभावक र सरोकारवाला लक्षित कार्यक्रमहरुमा समन्वय, सहकार्यका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रम मध्यविन्दु वडा नं ३ का वडाअध्यक्ष मान बहादुर महतोको अध्यक्षता सम्पन्न कार्यक्रममा सम्पुर्ण जनप्रतिनिधिहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, आमा समूह र महिला समुहका प्रतिनिधिहरु, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरु, बिधालय र शिक्षक प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरु तथा स्थानीयहरु गरि ४२ जनाको सहभागिता रहेको थियो ।