कावासोती । कावासोती आठमा रहेको मौलाकालिका अपाङ्ग सेवा संस्थामा कावासोती वडा नम्बर तीनले आइतबार विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
भान्छामा आवश्यक पर्ने चामल , दाल , आलु प्याज , तेल , खुर्सानी लगायतका विभिन्न खाद्यान्न सामग्रीहरू, दुई थान ग्यास सिलिन्डर र चुलो , न्यानो कपडा र शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
वडा कार्यालयको आर्थिक वर्ष २०८१ ÷ ०८२ बजेट कार्यक्रम मार्फत उक्त सामग्री वितरण गर्ने कार्य गरिएको वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो । वडा कार्यालयले मौलाकालिका अपाङ्ग सेवा संस्थामा सहयोग गर्नका लागि ५० हजार रुपैयाँ बिनियोजन गरेको थियो । सोही बजेट कार्यक्रमबाट मौलाकालिका अपाङ्ग सेवा संस्थामा विभिन्न सामग्री वितरण गरिएको वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो ।
संस्थामा रहेका बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई केही भए पनि सहयोग होस भन्ने उद्देश्यले वडाबाट उक्त सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । वडा कार्यालयले परोपकारी कार्य गर्ने साँच अनुसार मौलाकालिका अपाङ्ग सेवा संस्थामा सहयोग गरेको उहाँले बताउनुभयो । अन्य विकास निर्माणका काम सँगै सामाजिक कामलाई पनि वडाबाट हातेमालो गर्नुपर्छ भन्ने उद्देश्य राखेर सामग्री वितरण गरेको उहाँले बताउनुभयो । खाद्यान्न संगै चिसोमा न्यानो कपडाको पनि आवश्यकता पर्ने र यहाँ , पढ्ने बालबालिकाहरू समेत रहेकाले उनीहरूलाई सहयोग पुगोस् भन्ने हेतुले शैक्षिक सामग्री समेत प्रदान गरिएको अध्यक्ष गिरीले बताउनुभयो । वडाले यस किसिमको परोपकारी कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिदैँ जाने गिरीले बताउनुभएको छ ।
कार्यक्रममा वडा सदस्यहरू ऋषि बस्ताकोटी , रन बहादुर थापा , बसन्ती कुँवर केसी र सावित्री रसाइलीको सहभागिता रहेको थियो । भने, मौलाकालिका अपाङ्ग सेवा संस्थाकी अध्यक्ष सविना गिरी र समितिका अन्य सदस्यहरूको समेत सहभागितामा सामग्री हस्तान्तरण गरिएको हो ।