नेपालमै पहिलो ‘अन्डर वाटर फिस टनेल’मा आकर्षण

  • नवलपुर आज
  • २०८१ मंसिर १, शनिबार (२ महिना अघि)
  • १४६ पटक पढिएको
नेपालमै पहिलो ‘अन्डर वाटर फिस टनेल’मा आकर्षण

गैंडाकोट । नेपालमै पहिलोपटक गैँडाकोटको नारायणी नदीकिनारमा सञ्चालनमा आएको ‘अन्डर वाटर फिस टनेल’मा दर्शकको आकर्षण बढ्दै गएको छ । टनेल सञ्चालनमा आएको तीन दिनमै १० हजार बढी दर्शकहरुले अवलोकन गरेका सञ्चालकहरु बताउँछन् ।
टनेलभित्रको पानीमा राखिएको माछा हेर्ने दर्शकहरुको भीड दैनिकरुपमा बढ्दोक्रममा छ । नवलपुरको गैँडाकोट–५ की सुशीला कुमारी गुरुङले आफूले जीवनमै पहिलोपटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्न पाएको बताउनुभयो । टनेलभित्र पसेर विभिन्न प्रकारका सानादेखि ठूलासम्म माछाहरु हेर्न पाउँदा आफ्ना बालबालिकाहरुसमेत खुसी भएका उहाँले बताउनुभयो ।
दुई सय फिट लम्बाइ तथा ६० फिट चौडाइमा निर्माण गरिएको डोमभित्र पानीले भरिएको टनेलमा माछा राखेर टनेलभित्रबाट हेर्ने व्यवस्था गरिएको छ । टनेलभित्रको माछा हेर्नका लागि गैँडाकोट–२ गैरीबाट पुग्नुभएका रमेश न्यौपानेले विदेशमा गएर समुद्रभित्र सिसामा पसेर माछा हेर्न पाइन्छ भन्ने आफूले सुनेको भए पनि अहिले प्रत्यक्ष देख्न पाएको बताउनुभयो । आकर्षक र नौलो अनुभव पाएको उहाँको भनाइ छ ।
गैँडाकोटमा ‘अन्डर वाटर फिस टनेल’ राख्ने संस्था राजधानी एम्युजमेन्ट राइट्स नेपालका प्रतिनिधि कृष्ण शर्मा पौडेलले टनेल सञ्चालनमा आएपछि दिनप्रतिदिन दर्शकहरुको उपस्थिति बढ्दै गएको बताउनुभयो । विदेश गएर टनेलभित्रको माछा हेर्न धेरै खर्च लाग्ने भएकाले ‘अन्डर वाटर फिस टनेल’ हेर्ने नेपालीहरुको इच्छा पूरा गर्न आफूहरुले काम गरेको बताउनुभयो ।
टनेलभित्र पानीमा राखिएको माछा वातानुकुलित वातावरण (एसी)मा बसेर हेर्न पाउने व्यवस्था गरिएको पौडेलको भनाइ छ । दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव परिसरमा निर्माण गरिएको टनेलभित्र पानीमा राखिएका माछा ६ फिटसम्म लम्बाइका छन् भने ती माछाहरु चीन एवम् अन्य विदेशी मुलुकबाट ल्याइएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस