नवलपुर । नवलपुर जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा दायर भएका छन् ।
अदालतमा दर्ता भएका समग्र मुद्दा मध्ये ४५ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका रहेको अदालतको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्षको चार महिनाको अवधीमा १७७ थान मुद्दा अदालतमा दर्ता भएको छ । जसमा ३६ थान मुद्दा पुरुषवादी भइ दायर भएको सम्बन्ध विच्छेदका मुद्धा रहेका छन् ।
जिल्ला अदालतले शुक्रबार आयोजना गरेको सञ्चारकर्मीसँग अन्तरकृयामा स्रेस्तेदार गम्भीर घिमिरेले पछिल्लो समय पुरुषहरूले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नेक्रम बढेको बताउनुभएको हो । नयाँ संहिताले पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने अधिकार दिएपछि पुरुषवादी भइ सम्बन्ध विच्छेदका मुद्दा दायर गर्नेक्रम बढ्दो रहेको उहाँले बताउनुभयो ।
१७७ थान मुद्दामध्ये शुद्ध सम्बन्ध विच्छेद ( धनसम्पत्ति केही पनि नलिइकन गरिने ) १५७ थान , अंश जोडिएको सम्बन्ध विच्छेद १९ थान मानाचामल जोडिएको सम्बन्ध विच्छेद एक थान रहेको घिमिरेले जानकारी दिनुभयो ।चालु आर्थिक वर्षको चार महिनामा ४०७ थान नयाँ मुद्धा दायर भएको उहाँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा कूल एक हजार ३६८ थान मुद्दा मध्ये ५२४ थान सम्बन्ध विच्छेदका मुद्दा अदालतमा दर्ता भएको तथ्याङ्क छ । जसमध्ये ४७६ थान फर्छ्यौट भएको । ३५८ थान मिलापत्र , दावी पुग्ने फैसला ८० , दावी नपुग्ने फैसला ७ , फिर्ता फैसला ११ , डिसमिस फैसला २० र फर्छ्यौट हुन बाँकी ४८ थान मुद्दा रहेको जिल्ला अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा ४ सय ७१ थन मुद्दा दर्ता भएको थियो । ती सबै फर्छ्यौट भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो ।
अन्तरकृयामा बोल्दै जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीले सम्बन्ध विच्छेद बढ्नुको पछाडि धेरै कारणहरू रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगार , सामाजिक सञ्जालको दुरुपयोग , नबुझी बिहे गर्नु , छिटो बिहे गर्नु लगायतका कारण रहेको बताउनुभयो ।