नवलपुरको २० बिगाहा क्षेत्रफलमा व्यवसायिक प्याज खेती

नवलपुरको २० बिगाहा क्षेत्रफलमा व्यवसायिक प्याज खेती

नवलपुर । नवलपुरका किसान व्यवसायिक प्याज खेतीमा लागेका छन् ।
जिल्लाको चार वटा पालिकाको २५ वटा किसान समूहले अहिले प्याजको नर्सरी तयार गरिरहेका छन् । कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट र बुलिङटार गाउँपालिकामा गरि २० बिगाहा क्षेत्रफलमा प्याज खेती गर्ने योजना सहित प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वले काम सुरु गरेको छ ।
राम्रो उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने योजना सहित कार्यालयले पहिलो वर्षबाट नै किसानलाई हौसला प्रदान गरेर काम सुरु गरेको छ । सबैभन्दा बढी उत्पादन गर्ने किसानलाई नगद २० हजार रुपैयाँ राशीको पुरस्कार वितरण गरिने छ । भने , दोश्रो हुनेलाई १५ , तेश्रो हुनेलाई १० र चौथो हुनेलाई ५ हजार नगद पुरस्कार समेत प्रदान गरिने छ । क्षेत्रफलको आधारमा नभई उत्पादनको आधारमा उक्त पुरस्कार प्रदान गरिने प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताउनुभयो ।दिनानुदिन प्याजको प्रयोग बढ्दो तर नेपालमा प्याज उत्पादन नगन्य हुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई केही हदसम्म भएपनि न्यूनीकरण गर्ने उद्देश्यले सरकारले प्याज प्रबर्द्धन कार्यक्रम अगाडि बढाएको छ । सरकारी तथ्याङ्क अनुसार ९० प्रतिशत प्याज बाहिरी मुलुकबाट आयात हुने गर्दछ । बढ्दो आयातलाई न्यूनीकरण गर्ने उद्देश्यले प्याज खेतीमा किसानलाई जोड्न लागेको कार्यालय प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताउनुभयो ।
प्याज खेतीका लागि अहिले सामूहिक नर्सरी निर्माण गरिएको छ । केही नर्सरीमा प्याजको बिरुवा उर्मेर राम्रो भइसकेको छ भने केही नर्सरीमा भर्खर उम्रने क्रममा रहेको छ । कार्यालयले नासिक रेड – ५३ र रेड क्रियोल गरि दुई जातको प्याजको बीउ किसानलाई उपलब्ध गराएको र उक्त बीउको उमार शक्ति राम्रो पाइएको वरिष्ठ कृषि अधिकृत सिंहले बताउनुभयो ।
प्याजका लागि नवलपुर जिल्लाको हावापानी र माटो उपयुक्त रहेको हुँदा उत्पादन राम्रो हुने अपेक्षा लिएको वरिष्ठ कृषि अधिकृत सिंहको भनाई छ । प्याज खेतीका लागि चिस्यान भएको माटो चाहिने हुँदा नवलपुरमा प्याज खेतीका लागि माटो र हावापानी उपयुक्त रहेको वरिष्ठ कृषि अधिकृत सिंहले बताउनुभयो । हिउँदको मौसम हुस्सु लाग्ने भएकाले हुस्सुले समेत प्याजलाई खासै असर पर्ने हुँदा राम्रो हुने अपेक्षा लिएको उहाँले बताउनुभयो । प्याज खेतीमा लागत र मेहेनत कम लाग्ने साथै रोग कीरा पनि कम लाग्ने भएकाले किसानहरू यस खेतीबाट लाभान्वित हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । बाहिरबाट आयात बढी हुने भएको हुँदा आफ्नै माटोमा उत्पादन भएको प्याजले बजारको समस्या नहुने राम्रो बजार र भाउ पाउनेमा समेत आफूहरू ढुक्क रहेको उहाँको भनाई छ ।
कार्यालयले किसानको आवश्यकता अनुसार उनीहरूको माग अनुसार ५० देखी ८५ प्रतिशत सम्म अनुदान दिने योजना बनाएको छ । अहिलेलाई प्याजको बीउ निशुल्क उपलब्ध गराइको छ । प्याज खेती प्रबद्र्धन कार्यक्रमका लागि कार्यालयले १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस