नवलपुर । नवलपुरबाट गैंडा स्थानान्तरण गरि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर लैजाने विषयको यहाँका सरोकारवालाले बिरोध जनाएकाछन्। निकुञ्जले यस क्षेत्रबाट गैंडा स्थानान्तरण गर्नु यहाँको पर्यटन र समग्र विषयलाई प्रभावित पार्नु भएको होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष रानाले बताउनुभयो ।
गैंडा स्थानान्तरणको विषयलाई लिएर आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा ध्यानाकर्षण पत्र बुझाइएको छ।
प्रमुख जिल्ला अधिकारलाई ध्यानाकर्षण पत्र बुझाउदै गैंडा स्थानान्तरण कार्य रोक्न आवश्यक समन्वय गर्न अनुरोध गरेकाछन्।
ध्यानाकर्षण पत्रमा भनिएको छ ” गैंडा हाम्रो जिल्लाको जैविक विविधताको महत्वपूर्ण अंग हुन् । यी वन्यजन्तुहरुले पर्यावरणीय सन्तुलन कायम राख्न र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको सर्वविध्दितै छ । विगतका समय देखि नवलपरासी (ब.सु.पु.) जिल्लामा रहेका गैंडालाई अर्को स्थानमा स्थानान्तरण गरिदै आएको छ। गैंडा स्थानान्तरण गर्ने विषयलाई लिएर हामि सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण भएको छ।”
ध्यानाकर्षण पत्रमा थप भनिएको छ”यसको स्थानान्तरणले जिल्लामा जैविक विविधता, पर्यावरणीय सन्तुलन र पर्यटन उद्योगमा नकारात्मक प्रभाव पर्न सक्ने सम्भावना देखिएको छ। गैंडा हाम्रो प्राकृतिक सम्पदा मात्र नभएर पर्यटन व्यवसायको स्रोत पनि हो । त्यसैले, यसको स्थानान्तरणले यस क्षेत्रमा व्यवसायिक, सामाजिक र पर्यावरणीय असर पार्न सक्छ । तसर्थ गैंडा स्थारान्तरण भन्दा पनि मानव वन्यजन्तु इन्द्व न्यूनीकरण गर्नको लागि वैकल्पिक वैज्ञानिक मार्ग अवलम्बन गरि सहि व्यवस्थापन गर्नु हुन बिनम्र अनुरोध गर्दछौं। अतः यस विषयमा ध्यान दिई स्थानान्तरणको कारण, प्रभाव र यसले गर्दा उत्पन्न हुन सक्ने समस्याहरूको सम्बोधन गर्नको लागि आवश्यक पहल गरिदिनुहुन समेत अनुरोध गर्दै यो कार्य तत्काल रोक्नको लागि हामि तपशिलका सरोकारवालाहरु जोडदार माग गर्दछौं।”
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले यस विषयमा आफुले बुझेर आवश्यक समन्वय गर्ने बताउनुभयो ।
नवलपुर होटल व्यवसायी सङ्घ, नवलपुर पर्यटन समिति, नेचर गाइड एसोसिएसन नवलपुर, ऐतिहासिक कावासोती ताल संरक्षण समिति, हरियाली संस्था र कावासोती होटल व्यवसायी सङ्घको नगर समितिले संयुक्त रूपमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।