कावासोतीमा तिहारका लागि फूल तयार , १२ स्थानमा फूलको खेती

कावासोतीमा तिहारका लागि फूल तयार , १२ स्थानमा फूलको खेती

कावासोती ।  नवलपुरको कावासोती नगरपालिका तीन गणेश चोक निवासी किसान दिपक न्यौपानेले तिहारलाई लक्षित गरि गरेको सयपत्री ( थुँगे फूल ) तयार भएको छ । 
विगत पाँच वर्षदेखि उहाँले आफ्नो बारीमा पुष्प खेती गर्दै आउनुभएको छ । यस वर्ष पाँच सय गोटा माला बेच्ने उहाँको लक्ष्य रहेको छ । गत वर्ष पाँच कठ्ठा जमिनमा खेती गर्नुभएको उहाँले बाहिरबाट आएको मालाले बजार बिगारेपछि सोचेजति प्रतिफल पाउन नसकेका कारण यस वर्ष थोरै क्षेत्रफलमा खेती गरेको उहाँले बताउनुभयो । पुष्प खेतीका लागि २० हजार रुपैयाँ लगानी लगाएको र करिब ५० हजार रुपैयाँ नाफा हुने अपेक्षा लिएको उहाँले बताउनुभयो ।
घरको र अफिसको काम भ्याएर पनि थोरै क्षेत्रफलमा एक सिजनमा ५० हजार नाफा हुनु भनेको आफूले राम्रै रुपमा लिएको न्यौपानेको भनाई छ । अन्य खेती गरेर त्यति पनि आम्दानी नहुने तर पुष्प खेती थोरै क्षेत्रफल र थोरै मेहेनतमै राम्रो आम्दानी हुने भएपछि आफूले पुष्प खेतीलाई निरन्तरता दिदै आएको उहाँले बताउनुभयो ।
उहाँले १५ किलोग्राम फूल टिपेर स्टोर गरेर राखिसकेको बताउनुभयो । बोटमा अधिकांश फूल तयार भइसकेको छ । तयार नभएका फूल छठ तथा मङ्सिरमा विवाहको सिजनमा समेत खपत हुने उहाँले जानकारी दिनुभयो ।
कावासोती नगरपालिकाले प्लाष्टिकका फूलमालालाई प्रतिबन्ध गर्ने कार्य सुरु गरेकोले प्राकृतिक फूलले बजार पाउनेमा पुष्प व्यवसायीहरू आशावादी रहेको बताउनुभयो । गत वर्ष पुष्प व्यवसायीहरू र पालिकासँगको समन्वयमा मूल्य समेत निर्धारण गरिएको थियो । अहिले भने मूल्य निर्धारण गर्न बाँकी रहेको छ । नजिकको बजारलाई मूल्याड्कन गर्दै कावासोतीमा मूल्य निर्धारण गरिने उहाँले बताउनुभएको छ । छिट्टै नै यहाँका पुष्प व्यवसायीहरूको बैठक बसेर मूल्य निर्धारण गर्ने कार्य गरिने समेत उहाँले जानकारी दिनुभयो ।
किसान न्यौपानेले भर्खरबाट नर्सरी समेत सुरुआत गर्नुभएको छ । आफ्नै जग्गामा तत्कालका लागि थोरै क्षेत्रफलमा नर्सरीको सुरुआत गरेको भन्दै उहाँले बजार राम्रो भएमा विस्तार समेत गर्दै लैजाने बताउनुभयो । विभिन्न प्रजातिका फूल र सजावटका बोटविरुवाको नर्सरी उहाँले तयार पार्नुभएको छ ।
यसैगरी कावासोती दुई निवासी विकास खड्काले समेत पुष्प खेती गर्नुभएको छ ।
तिहारसम्म फूल तयार हुने उहाँले बताउनुभयो । तीन वर्षदेखि उहाँले पुष्प खेती गर्दै आउनुभएको छ । उहाँले पनि गत वर्ष १० कठ्ठामा पुष्प खेती गर्नुभएको थियो । गत वर्ष फूल खपत कम हुँदा केही नोक्सान भएकोले यस वर्ष उहाँले थोरै क्षेत्रफलमा खेती गर्नुभएको छ । उहाँले कृषि ज्ञान केन्द्रबाट निशुल्क रुपमा फूलको बीउ अनुदानमा प्राप्त गर्नुभएको हो । थोरै लगानीमा पनि छोटो सिजनमा फूलखेतीबाट आम्दानी लिन सकिने हुँदा आफू यो पेशामा लागेको उहाँले बताउनुभयो । परिवारकै सदस्य मिलेर काम गर्न सकिने खर्च पनि कम लाग्ने भएकाले त्यति गाह्रो नहुने हुँदा पुष्प खेतीप्रति आफू आकर्षित भएको किसान खड्काको भनाई छ ।
यस वर्ष कावासोती नगरपालिकामा विभिन्न वडाहरूमा व्यक्तिगत तथा सामूहिक रुपमा गरि १२ स्थानमा युवाहरू मिलेर व्यावसायिक फूलखेती गरिरहेका छन् । यहाँ उत्पादन भएका फूल जिल्ला भित्र नै पूर्णरुपमा खपत हुने हुँदा यहाँका युवाहरू फूल खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस