गैँडाकोटमा गण्डकी प्रदेश स्तरीय महोत्सव हुँदै

गैँडाकोटमा गण्डकी प्रदेश स्तरीय महोत्सव हुँदै

नवलपुर । कृषि उत्पादन र पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दोस्रो गण्डकी प्रदेश स्तरीय महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा जिल्लाको गैँडाकोट स्थित नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको समितिका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।

कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म संचालन गर्न लागिएको ‘दोस्रो गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव’ले कृषि उत्पादन ,स्थानीय उत्पादन सहित पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष भट्टचनले बताउनुभयो । महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन र नयाँ सम्भावनाको खोज गर्न समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘हामीकहाँ कृषि उत्पादनले सहज बजार पाउन सकिरहेको हुँदैन, किसानलाई प्रोत्साहन चाहिएको छ, कृषिमा व्यवसायीकरणको आवश्यकता रहेको छ, महोत्सवले कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा छ’ अध्यक्ष भट्टचनले भन्नुभयो ।
महोत्सवमा कृषि उत्पादनको प्रोत्साहनका लागि कृषि क्षेत्र तथा स्थानीय उत्पादनको बजारीकरणका लागि पचासवटा सम्म स्टल निशुल्क उपलब्ध गराउने योजना रहेको अध्यक्ष भट्टचनले बताउनुभयो । यसले कुनै पनि किसानले उत्पादन गरेको वस्तु बजारसम्म लान सकिरहेका छैनन् भने उनिहरु लाई बजारीकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
अठार दिनसम्म चल्ने महोत्सवमा तीन सयवटा स्टलहरू रहने आज आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । हस्तकला, कृषि, अटोमोबाइल्स, सूचना तथा प्रविधि, औद्योगिक उत्पादन, दैनिक उपभोग्य बस्तु, लत्ताकपडा लगायतका स्टलहरू महोत्सवमा रहने अध्यक्ष भट्टचनले बताउनुभयो । मेलामा वाल उद्यान सहित स्थानीय तथा राष्ट्रिय कलाकारको साँगीतिक प्रस्तुती समेत नियमित रुपमा रहने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश स्तरीय महोत्सवले नवलपुरमा गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा घोषणा गरेको लोकाहा औद्योगिक क्षेत्र, शुक्लागण्डकी नगरपालिका, पोखरा महानगरपालिकामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौबादी फलाम खानी निर्माणमा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको भनाई छ ।
महोत्सवले नवलपुरका सबै पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने तथा नयाँ सम्भावनाको खोजी गर्दै त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथसम्मको पर्यटकीय करिडोरको प्रचार गर्ने, त्रिवेणी–कोरला मार्गको दिगो संचालन , दुवै ठाउँमा अन्तराष्ट्रिय स्तरको भन्सार कार्यालय स्थापनका लागि समेत सरोकारवालालाई घच्घच्याउने अध्यक्ष भट्टचनले बताउनुभयो ।
‘आर्थिक विकासको मूल आधार : कृषि, पर्यटन ,उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सव संचालनका लागि अनूमानित रु. १ करोड ७० लाख खर्च लाग्ने र खर्च कटाएर करिब रु. ३० लाख बचत हुने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम नवलपुकार पर्यटकीय क्षेत्रको प्रर्वद्धन, उद्यमशीलता विकास र महिला उद्यमीहरु एवं जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको क्षमता अभिवृद्धिमा खर्च गरिने अध्यक्ष भट्टचनले बताउनुभयो ।
महोत्सव प्रवेश गर्न सर्वसाधारका लागि एक सय रुपैँया टिकट राखिएको छ । विद्यार्थीका लागि रु. ५० र ज्येष्ठ नागरिकका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताएको छ । यस्तै रु. एक सयको टिकट काट्नेहरुका लागि मौलाकाली केवलकारको भाडामा पचास प्रतिशत छुट प्रदान गरिने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस