कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरमा शुक्रबार ( आज ) भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा, नवलपुर रक्त सञ्चार सेवा र मध्यविन्दु जिल्ला अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।
पछिल्लो समय डेँगुका बिरामी बढ्दा रगतको माग बढेको तर, रक्त सञ्चार केन्द्रमा रगत अभाव हुँदा अत्यावश्यक परेको अवस्थामा समेत रगत उपलब्ध हुन नसकेकोले जीवनदानका निम्ति रक्तदान कार्य गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाहले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले रक्तदान गर्दै कार्यक्रम सुरुआत गरिएको थियो ।
रक्तदान कार्यक्रममा कावासोती वडा नम्बर तीनका अध्यक्ष डोरमान गिरी , सामुदायिक प्रहरीका अध्यक्ष नारायणी भट्टराई , नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा सभापति बाबुराम कडेल , नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा लगायतको आतिथ्यमामा कार्यक्रम भएको हो ।