कावासोती । नवलपुरमा यस वर्ष आलु प्रबर्द्धन कार्यक्रममा कृषकको आकर्षण बढेको पाइएको छ ।
गत वर्ष आलु प्रबर्द्धन कार्यक्रम राम्रो भएपछि यो वर्ष आलु प्रबर्द्धन कार्यक्रममा कृषकको सङ्ख्या र क्षेत्रफल बिस्तार भएको छ ।
बुधबार कृषि ज्ञान केन्द्र नवलपुरको आयोजनामा कावासोतीमा भएको प्रशोधन योग्य आलु प्रबर्द्धन कार्यक्रम सम्बन्धी कृषक तथा सरोकारवालासँग अभिमुखीकरण कार्यक्रममा दिएको जानकारी अनुसार जिल्लामा आलु प्रबर्द्धन कार्यक्रमप्रति कृषकको आकर्षण बढेको तर , बजेट अभावका कारण कार्यक्रममा जोडिन चाहेका कृषकलाई समेत समेट्न नसकेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कूल प्रसाद तिवारीले जानकारी दिनुभयो ।
आलुको माग धेरै हुने र स्थानीय उत्पादन कम हुने हुँदा धेरै मात्रामा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले यसको उत्पादन वृद्धि गरि आयातमा कमी ल्याउनका लागि गण्डकी प्रदेश सरकारले आलु खेती प्रर्वद्धन कार्यक्रम गत वर्षबाट सञ्चालनमा ल्याएको थियो । पहिलो वर्षमा नै नवलपुरमा यो कार्यक्रम सफल भएको तथ्याङ्कले पुष्टि गरेको ज्ञान केन्द्र प्रमुख तिवारीले बताउनुभयो । जिल्लाका विभिन्न पालिकाहरूमा गरेर गत वर्ष समूह÷सहकारी मार्फत ९० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकोमा एक हजार ९९२ मेट्रिकटनको आलु उत्पादन भएको थियो । उक्त आलु बिक्रीबाट कृषकहरूले ७ करोड ८९ लाख २४ हजार रुपैयाँ आम्दानी लिन सफल भएको ज्ञान केन्द्र प्रमुख तिवारीले जानकारी दिनुभयो । यस वर्ष २१ हेक्टर क्षेत्रफलमा आलु खेती थप विस्तार भएर एक सय ११ हेक्टर क्षेत्रफलमा आलु खेती गर्न लागिएको छ । भने , गत वर्ष ३१ वटा किसान समूहले यस कार्यक्रममा सहभागि भएकोमा अहिले ७ वटा समूह थप भएर ३८ वटा समूह आबद्ध भएको ज्ञान केन्द्र प्रमुख तिवारीले जानकारी दिनुभयो ।
गत वर्ष कृषि ज्ञान केन्द्र नवलपुरले आलु खेती प्रर्वद्धनका लागि रु. ३ करोड ९२ लाख विनियोजन गरेको थियो । तर अहिले भने बजेटमा कटौती भएको छ । अहिले रु. एक करोड ८४ लाख ३० हजार मात्रै बिनियोजन भएको छ । बजेटको कमीका कारण विगत चार वर्षदेखि अनुदान पाउँदै आएका कृषकहरूलाई कार्यक्रममा समेट्न नसकेको तिवारीले बताउनुभयो । यस वर्ष बजेट कम भएकाले अनुदानमा समेत केही कटौती भएको छ ।
आलु खेतीको अनुदानका लागि समूह÷सहकारीमा कम्तिमा दश घरधुरी संलग्न भई न्यूनतम ३० रोपनी क्षेत्रफलमा आलुखेती गर्नुपर्ने हुन्छ । यसरी खेती गर्न चाहनेलाई गत वर्ष ८५ प्रतिशत सम्म अनुदान उपलब्ध गराइएको थियो । तर अहिले अनुदानमा केही कटौती गरेर क्षेत्र विस्तारलाई प्राथमिकता दिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश कृषि , भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषि क्षेत्रको बजेट वृद्धिका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । यस वर्ष विभिन्न परिस्थितिका कारण सोचे अनुसारको बजेट कृषिमा बिनियोजन हुन नसकेको भन्दै उहाँले अर्को वर्षमा कृषि क्षेत्रमा बजेटको कमी हुन नदिने बताउनुभयो । उहाँले देशलाई समृद्ध बनाउने माध्यम भनेकै कृषि क्षेत्र भएकोले युवा पुस्ताहरू कृषि क्षेत्रमा लागेर उत्पादनलाई बढाएर आयात घटाउने कार्यमा लाग्न जरुरी रहेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले आलु प्रबर्द्धन कार्यक्रमबाट आयआर्जनमा बृद्धि गर्ने लक्ष्य लिए अनुसार नै आलेको बजारीकरणको व्यवस्था सुरुमै निश्चित गरेको हुँदा कृषकरुहले ढुक्क भएर यस खेतिमा लाग्न अनुरोध गर्नुभयो । उहाँले स्वदेशकै उद्योगले उत्पादन भएजति आलु खपत गर्ने सम्झौता नै गरेर कार्यक्रम अघि बढाएका कारण आलुको बजारीकरणमा कुनै पनि समस्या नभएको तर खेती गर्दै गर्दा आइपर्ने रोग किरा , प्राकृतिक विपत्तिबाट जोगाउनका लागि कृषि ज्ञान केन्द्रका कर्मचारीहरुले सकेको काय गर्दै आएको जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले नवलपुरमा टटकारो समस्या भनेको सिंचाईको समस्या देखिएको हुँदा तयसाका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले नवलपुर जिल्ला उर्वर भूमि भएको जिल्ला भएका कारण पनि कृषि क्षेत्रमा प्रदेशको आशा बोकेको जिल्ला रहेको भन्दै उहाँले किसानहरुका विभिन्न समस्याको समाधानका लागि के गर्न सकिन्छ आफ्नो बलबुताले भ्याएसम्म आफू लागिपर्ने समेत मन्त्री श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टंक प्रसाद प्रसाईं , कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मी , सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा लगायतले बोल्नुभएको थियो । उहाँहरुले कृषि क्षेत्रको समग्र विकासको लागि तीनै तहको सरकार एक भएर लाग्न जरुरी रहेकोमा जोड दिनुभएको थियो । संघ र प्रदेशबाट भएका कामहरुमा स्थानीय सकरारले समेत हातेमालो गर्दै सहुलियत तथा अनुदानका कार्यक्रम समेट्ने हो भने किसानको लागत कम हुने र नाफा बढी हुने हुँदा किसानहरु कृषि कर्मबाट पलायन हुनु नहुनेमा उहाँहरुको जोड थियो । आलु प्रबद्र्धन कार्यक्रममा विषेश गरेर आलुको वीज वृद्धिमा बढी केन्द्रित हुनुपर्ने समेत बताएका थिए । राम्रो बीऊ भएमा उत्पादन समेत दोब्बर हुने भएकाले किसान आफैले बीऊ उत्पादन गर्ने हो भने बाहिरको बीऊको भर पर्नु नपर्ने बताएका थिए ।
कार्यक्रममा कृषिहरुले कम्पनीले दिने भनेको आधार मूल्यमा केही चित्त नबुझेको गुनासो गरेका थिए । आधार मूल्य कम भएको कृषकको गुनासो थियो । भने , सिंचाई सुविधा प्रायाप्त नहुनु , विमा निशुल्क हुनुपर्ने लगायतका माग समेत किसानहरुले राखेका थिए ।
कार्यक्रममा आलु बाली विज्ञ तथा फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीका श्याम ढकालले प्रशोधन योग्य आलु खेतको बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले बीऊ रोप्ने उपयुक्त समय, माटो , र राम्रो बीऊ हुने हो भने आलु उत्पादन निकै राम्रो हुने बताउनुभयो । उद्योगमा प्रयोग हुने आलुको दाना ठूलो हुनुपर्ने हुँदा त्यसको बीउ, पनि ठूलो हुने भन्दै उहाँले टेक्नीकल रुपमा उचित तरिकाले अघिल्लो दिन काटेर भोदीपल्ट रोप्ने हो भने काटेकै बीऊ बाट समेत उत्पादन धेरै हुने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।