कावासोती । वनलाई उद्यमसंग जोड्नका लागि वन निति तथा कानूनका कारण निकै झन्झटिलो रहेको सरोकारवालाले गुनासो गरेका छन् ।
ग्रीन फाउण्डेशन नेपाल नवलपुरको आयोजना तथा कावासोती नगरपालिकाको समन्वयमा आइतबार ( आज ) कावासोतीमा भएको सामुदायिक वन अधिकार र कृषि वन उद्यम विकास सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रममा बोल्ने सरोकारवालाहरूले सामुदायिक वनको जग्गामा उद्यम सञ्चालन गर्नका लागि वन नीति नियम निकै झन्झटिलो रहेको अनुभव साटेका थिए ।
कावासोती १६ मा रहेको अंकुर सामुदायिक वनका अध्यक्ष लोक बहादुर क्षेत्रीले आफ्नो वनले जडीबुटी प्रशोधन उद्योग सञ्चालन गर्ने कार्यक्रम ल्याएर प्रकृया सुरु गर्दा निकै झन्झट ब्यहोर्नुपरेको बताउनुभयो । उहाँले वनको जग्गामा उद्योग सञ्चालन गर्न नमिल्ने हुँदा व्यक्तिको जग्गामा उद्योग सञ्चालन गरेको विवरण बनाएर मात्रै प्रकृया अघि बढेको भन्दै नेपालको वनबाट उद्यम गर्नका लागि सहज वातावरण बन्नै नसकेको गुनासो व्यक्त गर्नुभयो । उहाँले प्रशोधन केन्द्र सञ्चालन सुरु गर्दै गर्दा जडिबुटी सङ्कलन गर्नु नै अर्को समस्या रहेको बताउनुभयो । साना तथा मझौला उद्योगहरू सञ्चालन गर्दा हर्रो बर्रो , अमला लगायतका जडीबुटीमा हुने दाना – गेडा ) समेत पिस्न मिल्ने खालको मेसिन नहुँदा त्यसलाई मानिस नै लगाएर छुट्याउन निकै महँगो पर्ने , काम गर्ने मान्छे पनि पाउन गाह्रो रहेको उहाँले बताउनुभयो ।
यस्तै देवचुलीमा रहेको नमुना हस्तकला सामग्री उद्योगकी अध्यक्ष कोपिला रायमाझीले थाकलबाट हस्तकलाका सामग्री उत्पादन गरेर आफूहरू अर्थोपार्जनमा जोडिएको बताउनुभयो । वनमा खेर गइरहेको वन पैदावार थाकलबाट टोपी, ब्याग , सजावटका सामग्री निर्माण गरेर बिक्री वितरण गर्दै आएको बताउनुभयो । तर बजारीकरणमा भने समस्या रहेको उहाँले बताउनुभयो ।
विनयी त्रिवेणी स्थानीय महासङ्घ अध्यक्ष मीना पौडेलले आफ्नो वनले वनमा खेर गइरहेको वनमारा जस्ता झारपातबाट जैविक मल बनाएर बिक्री वितरण गर्ने कार्य गरेको बताउनुभयो । पालिकासंग समन्वय गर्दै काम गर्दा सहज भएको उहाँको भनाई थियो । छिमेकमा रहका अन्य वनका उपभोक्ता समेतलाई यस कार्यमा जोड्न सकेमा राम्रो हुने उहाँले धारणा राख्नुभयो । भौगोलिक कठिनाइ बाटोघाटोको समस्याले गर्दा ढुवानीमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।
जिल्लाको कावासोती , देवचुली गैडाकोट , बुलिङटार , हुप्सेकोट , मध्यविन्दु , विनयी त्रिवेणीबाट सामुदायिक वनका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा बोल्ने आधिकांश वक्ताहरूले वनबाट पाइने काठ दाउरालाई मात्रै आम्दानीको श्रोत मान्ने सोच रहेको भन्दै वनमा रहेका गैर काष्ठबाट पनि आम्दानी गर्न सकिने हुँदा सामुदायिक वन , स्थानीय सकार तथा सहकारी लगायतको त्रिपक्षीय समन्वय र सहकार्यमा वन उद्यमहरू सञ्चालन गरेर आर्थिक रुपमा सक्षम बन्न सकिनेमा जोड दिएका थिए ।
कार्यक्रममा मकवानपुर जिल्लाबाट नवलपुरका विभिन्न सामुदायिक वनहरुमा सञ्चालन भएका उद्योगहरूको निरीक्षण गर्न आएका जनप्रतिनिधि तथा सामुदायिक वनका पदाधिकारी र वन अभियानकर्मी समेतको सहभागिता रहेको थियो ।
मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर , सामुदायिक वन जिल्ला महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई , मनहरि स्थित सुनाचुरी सामुदायिक वनका सचिव रमेश कार्की , डिपाङ सामुदायिक वनका कोषाध्यक्ष समर बहादुर गोले , पशुपती सामुदायिक वनका अध्यक्ष रघुनाथ लामा लगायतले कार्यक्रममा आफ्नो अनुभव र मकवानपुरको मनरीमा रहेका सामुदायिक वनहरुले गरेका काम तथा समस्या र चुनौतीका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका सचिव सुशिल पौडेल , देवचुली स्थानीय महासंघका अध्यक्ष कृष्ण प्रसाद तिवारी , बुलिगटार स्थानीय महासङ्घ अध्यक्ष प्रकाश गिरी एन्साब नेपालबाट दिपराज भुसाल , अनुपमा अधिकारी लगायतको आतिथ्यता रहको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका उपप्रमुख प फूल कुमारी थनेतलेकावासोती नगरपालिकाले स्थानीय वन ऐन छिट्टै बनाउने जानकारी गराउनुभयो । उहाँले स्थानीय वन ऐन निर्माण गर्न सरोकारवाला सबैको सहयोग भइरहेको भन्दै नगरपालिका स्थानीय वन ऐन बनाउनका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै ग्रिन फाउण्डेशन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले वन प्रदावारका उद्योग सञ्चालन गर्दा देखिन विविभन्न समस्याहरुको समाधान गर्न सकिने भन्दै वनका नीति कानूनले आउने बाधा अड्चनलाई फुकाउनका लागि वन अभियानर्मीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा ग्रीन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष ठाकुर पाण्डेले स्थानीय वन ऐन बनाउनु मात्रै नभइ राजपत्रमा नै प्रकाशित गरेर कार्यानवयनमा ल्याउने गरेर यथाशिघ्र कार्य गर्न पालिकालाई अनुरोध गर्नुभयो । आफ्नो कार्यकालमा इतिहास कायम गर्ने गरि काम गर्न उहाँले पालिकाहरुलाई अनुरोध गर्नुभएको थियो । उहााले सामुदायिक वनहरुमा हुने पैदावारबाट आम्दानी गर्न प्रेरित गर्ने काम ग्रीन फाउण्डेशन नेपालले गर्दै आएको भन्दै यसमा विभिन्न समस्या र चुनौति भएपनि समस्याबाट नभागि सामाना गरेर अघि बढ्न सकेमा राम्रो हुने विशवास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला महासंघका उपाध्यक्ष कमल प्रसाद वाचेले स्वगत मन्तव्य राख्नुभएको थियो भने , ग्रीन फाउण्डेशन सचिव दूर्गादेवी विष्टले सहजीकरण गर्नुभएको थियो ।