ज्ञानु पंगेनी / प्रकाश रेग्मी , कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा बाढीबाट प्रभावितहरूका लागि विभिन्न सङ्घसंस्थाहरूको राहत सहयोग आउनेक्रम जारी छ ।
यसैक्रममा बुधबार ( आज ) असल छिमेकी नेपालले बाढीबाट प्रभावित परिवारका लागि विभिन्न सामग्री सहयोग गरेको छ । संस्थाले खाद्य सामग्रीहरू चामल , दाल , नुनतेल , चिनी , चिउरा , चियापत्ती , सोयाबिन लगायतका सामग्री सहयोग गरेको हो । भने साबुन , टुथपेस्ट , सेनेटरी प्याड, ब्ल्याङ्केट र सुत्केरी महिला र बच्चाका लागि आवश्यक पर्ने सामग्री सहयोग गरेको असल छिमेकी नेपाल नवलपरासीका एरिया इन्चार्ज पुरन सोतीले जानकारी दिनुभयो । संस्थाले १५ लाख बढीको सामग्री सहयोग गरेको सोतीले बताउनुभयो । संस्थाले विपदमा परेकालाई विगतदेखि नै राहत सहयोग गर्दै आएको बताउँदै सोतीले बाढीबाट प्रभावितका लागि यसपालि पनि सहयोगलाई निरन्तरता दिएको बताउनुभयो । विगतका वर्षमा मध्यविन्दु नगरपालिकामा कृषि क्षेत्रमा आफ्नो परियोजना सञ्चालन गरेको थियो ।
मध्यविन्दु २ मा एक कार्यक्रमका बीच मध्यविन्दु नगरपालिकाको समन्वयमा राहत सामग्री वितरण समेत गरिएको छ । असल छिमेकी नेपाल र हङ्कङबाट गगन गुरुङसहितको टिमले सहयोग गरेको राहत सामग्री मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारी , उपप्रमुख पूर्ण कुमारी चौधरी , वडा अध्यक्ष रमभक्त अधिकारी सहित सहयोगी संस्थाका प्रतिनिधि सहितको सहभागितामा वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भिमलाल अधिकारीले भुतहाका डुबान पीडितलाई नयाँ क्षेत्रमा व्यवस्थापन गरी घर बनाइदिने प्रतिवद्घता जनाउनुभएको छ । कार्यक्रममा बोल्दै अधिकारीले सधैँ डुबानमा परेर बस्नु भन्दा अन्यत्र उचित स्थानमा व्यवस्थापन गरि व्यवस्थित गरिकाले राख्ने बताउनुभयो । ‘दशैको मुखमा पालिकाको करिव ४५० घर डुवान भयो , कृषि पशुपन्छी तथा अन्नबालीमा करोडौँको क्षति भए पनि मानवीय क्षति हुनबाट बचाउन सकियो , चाड पर्वको बेला कोही पनि भोकै बस्न नपरोस् भन्ने सोचको साथ काम गरिरहेका छौँ ।’ अधिकारीले भन्नुभयो ।
प्रभावित परिवारका तुलसी बिकले बाढीले सबै क्षति गरेर खानबस्न कसरी व्यवस्थापन गर्न भन्ने चिन्तामा भएकालाई नगरपालिकाले समन्वय गरेर आवश्यक सबै कुरा उपलब्ध गराएकोमा धन्यवाद दिनुभएको थियो । ‘दशै आउन थालेको थियो । डुबानले धेरै समस्यामा परर के खाने के लगाउने भन्ने स्थितिमा आएको थिए । तिन दिन स्कुलमा बसेम, पालिकाले त्यै खाना खुवायो । अहिले चाडपर्व मनाउन पुग्ने खाद्यान्न दिनु भएको छ । त्यसमा खुसी लागेको छ ।’ बिकले भन्नुभयो ।