कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा बढीका कारण प्रभावित बनेका परिवारलाई नगरपालिकाले सोमबार ( आज ) पनि राहत वितरण गरेको छ ।
सोमबार मध्यविन्दु –६ भडारामा ५९ घरपरिवार र मध्यविन्दु २ सेहरीका २ सय परिवारलाई लाई आवश्यक खाद्यान्न सामग्री चामल , नुन तेल , चिउरा दाल र लत्ताकपडा वितरण गरिएको छ । सेहरीका २ सय परिवारका लागि सेफ द चिल्डेनको सहयोगमा प्रभावितलाई सेल्टर किट, हाइजिन किट, डिगनिटी किट, साबुन, झुल, खानेपानी शुद्धीकरण गर्ने फिल्टर सुत्केरी महिलातथा बच्चका लागि आवश्यक पर्ने सामग्री वितरण गरिएको सेभ द चिल्ड्रेनका संयोजक देवेन्द्र आचार्यले बताउनुभयो । यसैगरी मध्यविन्दु नगरपालिकाद्धारा बाढी प्रभावित क्षेत्रहरूमा त्रिपाल, कम्मल, खाद्यान्न, लत्ताकपडा, र औषधी वितरण भइरहेको छ ।
नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु २ सेहरीमा बढी प्रभावित बनेको बताउँदै नगरपालिका र विभिन्न संघसंस्थाद्धारा राहत वितरणका लागि समन्वय गरेर राहत वितरण गर्ने कार्य भइरहेको बताउनुभयो ।
मध्यवन्दु नगरपालिकामा बाढीले प्रभावित भएका नागरिकलाई आइतबार ( हिजो ) पनि नगरपालिका सहित विभिन्न संघसंस्थाको पहलमा राहत वितरण गरिएको थियो । यसैगरी नगरपालिकाले प्रभावित नागरिकलाई स्थलगत स्वास्थ्य उपचार र पशुका लागि समेत घुम्ती शिविर सञ्चालन गरेको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
मध्यविन्दु नगरपालिकाले एकद्धार प्रणली मार्फत राहत सामग्री वितरण सुरु गरेको छ । नगर प्रमुख भिमलाल अधिकारी , उपप्रमुख पूर्णकला चौधरी , वडा अध्यक्षहरु , सदस्यहरु र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि समेतको सहभागितामा डुबानमा परेका नागरिकलाई उद्धारका लागि रातदिन खटिएका थिए भने हिजोबाट राहत वितरण गर्ने कार्य जारी राखिएको छ ।
नगर प्रमुख भिमलाल अधिकारीले जो घरपरिवार बढी प्रभावित छन् उनीहरुलाई प्राथमिकतामा राखेर काम गरेको र सबैलाई क्रमशः राहत वितरण गरिने बताउनुभएको छ
उहाँले अब बाढी प्रभावित नागरिकलाई पूर्व अवस्थामा फर्काउने साथै राहत वितरणमा आफूहरु केन्द्रित बनेको बताउनुभयो । “सबैको अथक प्रयासले हामीले मानवीय क्षति हुनबाट रोक्यौं, अब सबैको सहकार्यले पुनःस्थापन र प्रभावित नागरिकको दैनिकी सहज बनाउन लाग्छौं, यस कार्यमा सहयोग गर्न सबैमा अनुरोध गर्दछु ” नगर प्रमुख अधिकारीले भन्नुभयो ।
बाढीले कृषिबाली , घरका सामाग्रीमा धेरै क्षति पुगेको बताउदै सबैको लगत संकलन गरि नगरपालिका र अन्य संस्थाको समन्वय सहयोग उपलब्ध गराउदै जाने बताउनुभयो । नगरपालिकाले नागरिकको साथमा स्थानीय सरकार छ भन्ने अनुभुती दिने हिसाबले काम गर्न कुनै कसर बाँकी नराख्ने गरि आफूहरु लाग्ने नगर प्रमुख अधिकारीले बताउनुभयो ।
बाढी प्रभावित सेहरीमा हाल नगरपालिका र अन्य संस्थाको सहकार्यमा खाना खुवाउने काम समेत चलिरहेको छ।
वडा नम्बर दुईका वडा अध्यक्ष रामभक्त अधिकारीले बाढीले ठूलो असर पारेको र अहिले प्रत्येक घरमा पुगि लगत लिने र तत्काल आवश्यक विषयको पहिचान गर्ने काम चलिरहेको बताउनुभयो ।
आज भएको राहत वितरण कार्यक्रम उप प्रमुख पूर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती , वडा नम्बर २ का वडा अध्यक्ष रामभक्त अधिकारी अन्य जनप्रतिनिधि , कर्मचारी , सहयोगी संस्था सेभ द चिल्ड्रेनका प्रतिनिधि,जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा लगायतको उपस्थिति रहेको थियो। राहत प्राप्त गर्ने स्थानीयले नगरपालिकाले आफ्नो दुखको घाउमा मलम लगाउने काम गरेको भन्दै धन्यवाद दिएका थिए।
बाढीका कारण मध्यविन्दु नगरपालिकामा करिब ४ सय ५० घरधुरी डुबानमा परेको छ । मध्यविन्दु नगरपालिका भित्रका वडाहरु २, ३,४,६ ,१२, १५ मा असर पारेको छ ।
कृषि तथा पशुपन्छि फर्ममा करोडौंको क्षति पुगेको छ।